No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मारिऊपोलमा युक्रेनी फौज अन्तिम समयसम्म लड्ने

0

युक्रेनका प्रधानमन्त्री डेनिस श्मीहलले घेराबन्दीमा परेको मारिऊपोल शहरमा युक्रेनी फौज रुसी फौजविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् । सो शहरमा बाँकी रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसले दिएको समयसीमा शुरू भइसके पनि शहर रुसी फौजको नियन्त्रणमा गइनसकेको उनले बताए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रको कुनै पनि भूभाग रुसलाई दिने मनशाय नरहेको बताएका छन् । पछिल्ला साताहरूमा रुसले आफ्ना आक्रमणहरू पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार पछिल्लोपटक रुसी फौजको आक्रमणमा परी खार्किभमा पाँच जनाको ज्यान गएको छ भने जोलोटो नगरमा अर्का दुईजना मारिएका छन् ।

दक्षिणमा मिकोलाइभका गभर्नरका अनुसार रुसी फौजले निरन्तर रकेट प्रहार गरिरहेका छन् । त्यहाँ युक्रेनी फौजले रुसी फौजलाई बन्दरगाह शहर ओडेसातर्फ बढ्नबाट प्रतिरोध गरिरहेका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क एबीसीलाई दिएको एउटा अन्तर्वार्तामा युक्रेनी प्रधानमन्त्रीले आइतबार सखारसम्म आत्मसमर्पण गर्न मस्कोले दिएको समयसीमा अस्वीकार गरिएको बताए । रुसी फौजले मारिऊपोलमाथि लगभग नियन्त्रण कायम गरिसकेको जनाएको छ । घेराबन्दीमा परेको मारिऊपोल शहर लडाइँको केन्द्रमा रहिआएको छ।

गत मार्चबाट रुसी फौजले मारिऊपोललाई घेराबन्दी गर्न थालेका थिए । निरन्तरको गोलाबारीले उक्त शहरलाई भग्नावशेषमा परिणत गरेको छ जसका कारण गैरसैनिकहरू घरमुनि बनाइएका भूमिगत आश्रयस्थलमा लुकेका बताइन्छ । त्यहाँ बिजुली, पानी, खानेकुरा र औषधिको आपूर्ति समेत रोकिएको थियो।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार ०२:३२

Leave a Reply