No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सात करोड होइन, सात सय करोडमा पनि एमालेलाई खरिद गर्न सम्भव छैनः अध्यक्ष ओली

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताएका छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि पर्न नदिने बताए ।

अध्यक्ष ओलीलाई एक युवाले एक मेहनती युवा र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनि प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिने क्रममा उनले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको बताएका हुन् । अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताए ।

यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पोलिटिकल फिल्ड इज अल्वेज ओपन फर एभ्रिबडी । यो कसैको पनि ठेक्कापट्टाको विषय होइन । यो सबैका लागि खुला छ । मैदान खुला छ । यो चाहिँ ओपन म्याराथन हो । तोकिएका खेलाडी छैनन् यसमा । सबैले यसमा भाग लिन पाउँछन् । अनि एक जना भाइले सोध्नु भयो । एक जना मेहनत गर्ने मान्छे र सात करोड लिएर आयो भने के गर्नु हुन्छ ? नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर चलाउँदै हिँड्ने पागल होइन यो । तर अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन । र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिँदैन । सात करोड होइन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न, खरिद गर्न सम्भव छैन ।’

अध्यक्ष ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत खरिद गर्नेहरुको फोटोलाई लिएर भोट माग्न हिँड्ने पार्टीहरु सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गरे । केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोष्ट गरेर तत्काल हटाएका थिए ।

सोही फोटोप्रति संकेत गर्दै उनले भने, ‘लोडसेडिङ अन्त्य गर्ने महान भनेर प्रचार गर्ने गफ दिने बेलामा । एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँड्ने लोगो बनाएको पनि देखियो । पछि त्यो कर्मचारीले आफैं लाज मानेर मेरो फोटो हटाउ भने । किनभने लोडसेडिङ यस्तो छ । बोल्दै गर्दा तीन पटक बत्ति जान्छ । चार रुपैयाँमा भारतलाई विजुली बेचेर ३८ रुपैयाँ युनिटमा किन्ने गरेको छ । चार रुपैयाँमा बेचेर ३८ रुपैयाँमा किन्ने गरेको छ । ३४ रुपैयाँ प्रतियुनिट घाटामा । यस्ता व्यक्तिहरुको फोटो लिएर भोट माग्न हिँडने पार्टीहरु पनि गठबन्धन भित्र ।’

अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरुसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार १३:४३

Leave a Reply