No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दाइ, कस्तो बिडम्बना हामीहरुले त अर्को पार्टीको छापमा स्वस्तिक चिन्ह लगाउनुपर्ने भो!

0

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको वैशाखी लिएर अगाडि जानुपर्ने आवश्यकता नभएको बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको वैशाखीको आवश्यकता नपर्ने बताएका हुन् ।

उनले निर्वाचनमा कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सक्ने बताए । कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताए । उनले ३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताए ।

कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उनले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताए । उनले भने, ‘आज के, कति कारणले, किन, हामीहरु कम्युनिष्टहरुसित मिलेर, गठबन्धन गरेर, अगाडि गइराख्या छौँ ? के कारणले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई पन्छाएर शीर्ष नेताहरु गठबन्धनको बैठकमा निर्णयहरु गरेर जिल्ला–जिल्लामा पठाइरहनु भएको छ ? के हामी कमजोर छौँ ? मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ । मलाई लाग्दैन नेपाली कांग्रेस एक्लै लड्यो भनेपनि हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौँ भन्ने मलाई आत्मविश्वास छ । हामीहरु के कारणले कम्युनिष्टहरुसित मिलेर स्थानीय निर्वाचनमा अगाडी गइराखेका छौँ ? ३६ लाख नयाँ भोटरहरु छन् । ३४ प्रतिशत हामीसित भोट छ । त्यसलाई ४० प्रतिशत कसरी बनाउने ? त्यो ३६ लाख भोटरलाई हामीहरुले नेपाली कांग्रेस बनाउन सकेनौँ, त्यसमध्ये १० लाख, २० लाख गरेर हामीले अगाडि बढाउन सकेनौँ भने नेपाली कांग्रेस फेरि कमजोर हुन्छ । अघि हामीले कानेखुशी गर्दै थियौँ गगनजीले मलाई भन्नुभयो दाइ, कस्तो बिडम्बना भयो हामीहरुलाई, हामीहरुले त अर्को पार्टीको छापमा स्वस्तिक चिन्ह लगाउनुपर्ने भो भनेर भन्दै हुनुहुन्थ्यो । यो अवस्था किन आयो ? के कारणले आयो ? त्यसको लेखाजोखा यो निर्वाचन पछि हामी गरौँला । तर यो निर्वाचन नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन तपाईहरु घर घर गएर जिताउनु हुनेछ भन्ने विश्वास पनि लिएको छु ।’

प्रकाशित: ७ बैशाख २०७९, बुधबार १६:४२

Leave a Reply