No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसद विघटन गलत थियो भनेर नबोल्न ओलीको निर्देशन

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै शक्ति मिलेर एमालेलाई घेराबन्दी गरी सिध्याउने प्रयास भएपनि त्यो सफल नहुने बताएका छन् ।

बिहीबार एमालेको सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले आफूहरूलाई सक्न खोजे पनि त्यो सफल नहुने बताएका हुन् । अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउन दाबी गरे ।

उनले भने, ‘अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ। तर हामीले परिणाम राम्रो ल्याएका थियौँ। उति बेला तराईमा हामीलाई प्रवेशै दिइएको थिएन। अहिले तराईमा एमाले सबैभन्दा मजबुत गढका रुपमा उदाएको छ।’

उनले संसद विघटन गलत थियो भनेर आइन्दा नबोल्न निर्देशन दिए । उनले भने, ‘प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला । प्रतिनिधिसभा विघटन सही थियो र नै पार्टी अहिलेको अवस्थामा छ । प्रचण्ड र माधव नेपालहरूका भाइ, छोरी बुहारीहरुको चित्त बुझाउँदैमा सकिन्थ्यो।’

उनले त्यही विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा रहेको जिकिर गरे । अध्यक्ष ओलीले आफूले नेतृत्व गरेको सरकार एमालेका तत्कालीन नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमका कारण ढलेको आरोप लगाए । कांग्रेस पनि गठबन्धनसँगै सकिने बाटोमा लागेको भन्दै उनले भीरमा लड्न खोजिरहेका भैंसीको पुच्छर समातेर सँगै लड्ने बाटोमा रहेको टिप्पणी गरे ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार ०९:२५

Leave a Reply