No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसलाई जोगाउने हो भने !

0

किशोर नेपाल ।

झण्डै पचास बर्षदेखि सर्वचेतन मनले म नेपाली कांग्रेसमा आवध्द भएको हूँ । अहिले मेरो आवध्दता सैध्दान्तिक मात्रै छ । म बाँची रहेको कालखण्डमा नेपाली कांग्रेसको कार्यकर्ताका रुपमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर राणा, सरोजप्रसाद कोइराला, शैलजा आचार्य तथा गिरिजाप्रसाद कोइरालाको बिचार–प्रक्रियाको सानिध्यमा रहेर,सर्वोपरि स्वतन्त्रता र लोकतन्त्रका लागि मैले काम गरेको हूँ । नेपाली कांग्रेसमा बिबादको कहिल्यै कमी रहेन । त्यसैले नेपाली कांग्रेसमा उठने बिबादलाई म सामान्य ठान्दछु ।

नेपाली कांग्रेस सँधै राजनीतिक, आर्थिक र सामाजिक उहापोहमा बाँचेको पार्टी हो । पहिलो राष्ट्रिय जन–आन्दोलन २०४६ पछिको समयमा पार्टीले लोकतान्त्रिक समाजवादी बिचारका आधारमा जनतालाई सुरक्षादिने आशा देशभरिका कांग्रेसजनमा छाएको थियो । त्यसका बिपरित कांग्रेसका दुर्दिन शुरु भए ।

अहिले समयले कोल्टे फेरेको छ । देशमा लोकतान्त्रिक गणतन्त्रको वातावरण तयार हुँदैछ । यो वातावरणमा कांग्रेस सबै बिचारको मियो बनेर रहनु पर्दछ ।

अहिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बिभिन्न बिपक्षी दलका नेतासंग संवाद र सहमतिको राजनीतिमा छ कांग्रेस । आगामी चुनावको परिणामले राजनीतिको पानी सङलो बनाउने आशागर्न सकिन्छ ।

पहिलोे जन–आन्दोलनपछि कांग्रेसले जनताका अपेक्षा पूरागर्न सकेन । तर, यसले स्वतन्त्रताको आगोपनि निभ्न दिएन । वामपन्थी दलहरुसंग गठबन्धनमा रहेको कांग्रेसको नेतृत्वमा गणतन्त्रको दोस्रो राष्ट्रिय निर्वाचन हुँदैछ । तर, बिभिन्न जिल्लामा कांग्रेसीहरु गठबन्धन सरकारका बिरुध्द नारा लगाउँदैछन । गठबन्धनले तोकेका उम्मेदवारका बिरुध्द उम्मेदवारीदिने प्रबृत्तिले टाउको उठाउन थालेकोछ । यो बिबेकसम्मत राजनीति होइन । कांग्रेसका नेताहरुले स्थानीय, प्रदेश र संघीय तहमा उठने बागी उम्मेदवारलाई सहमत गराएर पार्टीलाई दुर्घटनाबाट जोगाउनु पर्दछ ।

कांग्रेसमा ‘केही नपाउने’ कार्यकर्ताको कमी छैन । कांग्रेसका नाममा शासनगर्ने अवसर पाएका सुशील कोइरालादेखि शेरबहादुर देउवासम्म सबैले आ–आफनो भागको दुःख पाएका छन् । पछिल्लो झमटका नेताहरु कसैले पनि जनताको सेवा गरेका छैनन् । तै पनि, कांग्रेसीहरुले सुख पाउने हो भने सबभन्दा पहिले कांग्रेसलाई नै दह्रो  बनाउनु पर्दछ । मलाई टिकट दिएनन्, हेर्नुहोस् कांग्रेस हार्छ भन्ने कार्यकर्ता लोकतान्त्रिक खेलाडी कदापि होइनन् ।

वरिष्ठ पत्रकार किशोर नेपालको फेसबुकबाट

प्रकाशित: ११ बैशाख २०७९, आईतवार १६:२६

Leave a Reply