No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्थानीय निर्वाचन पार्टी पद्धतिका आधारमा नगरौँ

0

डा. प्रदीप ढकाल ।

स्थानीय स्तरमा अझ भनौँ बिशेषगरी गाउँघरमा अ‍ैँचोपैँचो र अर्मपर्म गर्दै मेलापर्व र चाडपर्व सँगै मनाएर सामाजिक जीवन चलिरहेको हुन्छ । पार्टी राजनीति गाउँगाउँमा नपुग्दासम्म गाउँको जीवन स्वस्थ थियो । सामूहिक पद्धतिमा चलिरहेको थियो । गाउँभरिको सिंचाइका लागि चाहिने कुलो निर्माण गाउँले आफै मिलेर गर्दथे । बाटोघाटो मर्मत मिलेर गर्दथे । चौतारी चिन्दथे । पार्टी व्यवस्था गाउँगाउँ पुगेपछि छिमेकी फुटे, परिवार फुट्यो । गाउँको कुलो बनाउन सिंहदरबार धाउन थालियो । त्यो कुलो लगिदिएबापत भोट पाएर त्यहाँका प्रतिनिधि सिंहदरबार छिर्न पाए । स्वाबलम्बी गाउँ परावलम्बी बन्न पुग्यो ।

निर्वाचनमा बहुमतका माध्यमबाट जनप्रतिनिधि चुनिने व्यवस्था त भयो तर बिभिन्न पार्टीका नाममा समाज बिभक्त हुन पुग्यो । एउटा छिमेकीले अर्को छिमेकीलाई शत्रुका रुपमा हेर्न थाले । सदियौँदेखि सहअस्तित्वका नाममा मिलेर बसेको समाज पार्टी पद्धतिले बिभक्त गरिदियो । अधिकारका नाममा कर्म र कर्तव्यलाई गौण गरेर राज्यको मुख ताक्नेगरी पराश्रित बनाइदियो । आफ्नो खेत बाँझै राखेर धान माग्न सिंहदरबार जान थालियो । अनि सिंहदरबारले बिदेशबाट ऋण र दातृ निकायको अनुग्रहमा किनेर ल्याइदिएको अनाज खानुमा आफ्नो अधिकार र लोकतन्त्र रक्षा भएको ठान्न पुगियो ।

तर यथार्थमा हामीलाई जोड्ने पद्धति चाहिएको हो तोड्ने होइन । हामी प्रत्यक्ष देख्न सक्दछौँ कि समाज टुटिरहेको छ । एउटै पार्टीभित्र पनि केन्द्रले लादिदिएको निर्णय मान्ने कि नमान्ने भनेर बिद्रोह भइरहेको छ । जनताको प्रतिनिधि चुन्न त जनतालाई नै स्वतन्त्र छाडिदिनुपर्ने हो । तर बिभिन्न अभियान र बिग्रहका नारा बोकेर गाउँगाउँ पुगिरहेका छन् नेताहरु । जनतालाई एकअर्कासँग जोड्न होइन, तोड्नका लागि राष्ट्रियस्तरका नेताहरु नै खुलेआम गालीगलौजमा उत्रिएका छन् । त्यही संस्कारमा हुर्किएको पार्टी पद्धतिले देशको मर्मलाई बोक्न सक्दछ भनेर कसरी मान्नु र खै ? राष्ट्रका नेता भनिएकाहरु नै गालीगलौजमा उत्रिएपछि देशले के ठूलो आशा गर्न सक्ला र ? जसले बढी र ठूलो स्वरमा चिच्चाएर गाली गर्न सक्यो त्यसैलाई नै नेता मान्ने भएपछि राज्य सम्यक र सत्यको मार्गमा जान सक्दछ भनेर कसरी विश्वास गर्नु र खै ? गाली सुनाउनका लागि सञ्चारकर्मीहरु डाकिन्छन् र गालीगलौजलाई नै जनताको मत माग्ने आधार मानेर देशव्यापी बनाइन्छ ।

निर्वाचन लोकतन्त्रको एउटा सुन्दर पद्धति हो । तर हामीकहाँ यसलाई कुरुप बनाइसकिएको छ । यथार्थमा, स्थानीय निर्वाचन गाउँघरमै जनतासँग मिलेर, भिजेर काम गरेका व्यक्तिलाई जनताले आफ्नै विवेकले चुन्न पाउने व्यवस्था हुनुपर्दछ । स्थानीय निर्वाचन पार्टी पद्धतिका आधारमा होइन कि व्यक्तिगत रुपमा छानिने हुनुपर्दछ । तत्लै तहका जनतालाई पनि पार्टी पद्धतिका नाममा बिभक्त गरेर शत्रु र मित्रको बिभाजनको रेखा कोरिनु राष्ट्रको हितमा छैन । यसले राज्यको जनशक्तिको क्षमतालाई क्षीण बनाउँदै लग्दछ र सामाजिक जीवनको आधारशिला कमजोर पारिदिन्छ र भविष्यका लागि लोकतन्त्रको जगलाई निमिट्यान्न पारेर तानाशाहका लागि मलिलो आधारशिला तयार गरिदिन्छ ।

ज्ञान र चेतना, विचार र विवेकले भरिपूर्ण सन्देशहरु प्रवाहित गर्न सक्ने, बिकासका मार्गहरु पहिल्याउन सक्ने र देशलाई विश्वमञ्चमा गौरवका साथ खडा गर्न सक्ने नेतृत्व चाहिएको हो हामीलाई । फलानो पार्टीले ढिस्कानोलाई र ढिस्कानोले फलानोलाई तथानाम गाली गर्दै पार्टी कार्यकर्तालाई पनि गाली र घृणा सिकाएर त्यही खराब ज्ञानलाई देशव्यापी फैलाउने परिपाटी देशको हितमा छैन ।
निर्वाचन प्रणालीको पुनर्मूल्यांकन गरेर नयाँ प्रणाली अपनाउनै पर्दछ । जनताको प्रत्यक्ष मतका आधारमा चुनिएको व्यक्ति सरकार प्रमुख बनेर बिज्ञ सम्मिलित मन्त्रीमण्डल बनाएर देशलाई उन्नतिको पथमा लम्काउन सकिन्छ । अनेक बिषयमा संबिधान संशोधनको कुरा चलिरहेको बेलामा निर्वाचन पद्धतिमा पनि संशोधन हुनैपर्दछ ।

स्थानीय निकायको निर्वाचनको माहौल चलिरहेको बेलामा यसतर्फ पुनर्मूल्याङ्कन गर्नैपर्दछ । जनता जोड्ने पद्धति चाहिएको हो हामीलाई एकअर्काका बिचमा शत्रुता र बैमनश्यता फैलाउने परिपाटीमा परिमार्जन गर्नैपर्दछ ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार ०४:२७

Leave a Reply