आर्थिक सङ्कटसँग सङ्घर्ष गरिरहेको श्रीलङ्काले धेरै प्रयोग गरिने औषधिहरूको मूल्य ह्वात्तै बढाएको छ । त्यहाँ डेढ महिनाभित्र दोस्रो पटक औषधिको मूल्यवृद्धि भएको हो । एन्टिबायोटिक, दुखाइ कम गर्ने केही औषधि र मुटुको समस्या भएकाले प्रयोग गर्ने औषधिको मूल्य ४० प्रतिशतसम्मले बढेको छ ।
श्रीलङ्कालीहरू या त छोटो अवधिका लागि मात्रै औषधि लिन बाध्य छन् या उनीहरूले विदेशबाट हुने आपूर्तिमा भर पर्नुपरेको छ । सरकारले औषधिको मूल्यवृद्धि गर्नुबाहेक अरू विकल्प नभएको बताएको छ । गम्भीर आर्थिक सङ्कट खेपिरहेको बेला देशको ढुकुटीबाट विदेशी मुद्रा रित्तिन थालेपछि सरकारले यस्तो निर्णय लिएको हो ।
सरकारले विदेशबाट खाद्यान्न तथा औषधिजस्ता अत्यावश्यक सामग्रीको आयातमा कडाइ गरेको छ वा प्रतिबन्ध लगाएको छ । श्रीलङ्काका सञ्चारमन्त्री नालक गोदाहेवाले यो सरकारले इच्छापूर्वक नभएको बताए ।
उनका अनुसार श्रीलङ्काली मुद्राको अवमूल्यन भएको र धेरैजसो औषधिहरू निजी क्षेत्रले आयात गर्ने गरेकाले सरकारसँग अरू विकल्प थिएन । त्यसो नगरे औषधिको चरम अभाव हुने उनको भनाइ छ ।