No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उम्मेदवारहरुलाई बैंकमार्फत मात्र खर्च गर्न निर्वाचन आयोगको निर्देशन

0

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो ।

आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, यसरी तोकिएका पदाधिकारीको नामसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्ने, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने छ ।

त्यस्तै, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिएर उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाई राख्नु पर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।

प्रकाशित: २० बैशाख २०७९, मंगलवार १४:४६

Leave a Reply