No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अर्थतन्त्र सही दिशामा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरताः पूर्वअर्थमन्त्री खतिवडा

0

काठमाडौं । निर्यात प्रवद्र्धनका लागि दीर्घकालीन नीति बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृ संस्था युथ चेम्बरले मङ्गलबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान’ विषयक कार्यक्रमका सहभागीहरुले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्र सही दिशामा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताए । उनले आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्र बैंकबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।

“अर्थतन्त्रमा संरचनागत समस्या छ, कृषि सडकदेखि जलविद्युत् सबै क्षेत्रमा आयात गर्नुपरेको छ । व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन”, उनले भने । आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालीन र दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको भन्दै यसबारे सरकार संयम हुनुपर्ने बेला आएको बताए । उपभोग्य वस्तुहरुको अभावसँगै मुल्यवृद्धि हुने हल्लामा बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले सरकारले हचुवाका भरमा वस्तुहरुको आयात रोकेको बताए । सरकारले आयातलाई नियन्त्रण नभई व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो । उनले कुन वस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला निजी क्षेत्रसँग छलफल गर्नुपर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले वैदेशिक विनिमय सञ्चितिमा असर गर्न थालेपछि बिलासिताका वस्तुको आयात केही समयका लागि नियन्त्रण गरिएको बताए । युथ चेम्बरका अध्यक्ष दीपेशरत्न तुलाधरले मुलुकको अर्थतन्त्रलाई सही दिशामा ल्याउनका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित: २० बैशाख २०७९, मंगलवार १७:०६

Leave a Reply