No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूराजनीति र नेपालको कम्युनिष्ट एकता

0

केशवप्रसाद भट्टराई ।
१. भूराजनीतिमा विगत सधैँ जीवित रहन्छ, विगत नै वर्तमान भएर रहिरहन्छ । भूराजनीतिमा आधुनिक भन्ने सवाल नै हुन्न । अर्थात् भूराजनीतिमा विगतको मृत्यु नै हुँदैन । पात्रहरू फेरिन्छन् , उनीहरूको भूमिकामा तलमाथि हुन सक्छ तर भूमिका रहिरहन्छ । नेपाल पृथ्वी नारायण शाहको पालामा पनि दुई ढुङ्गा वीचको तरूल र आज पनि ।

२. त्यसैले नेपालका हरेक राजनीतिक परिवर्तनमा मात्र होइन, सत्ता र सरकार परिवर्तनमा मात्र होइन राजनीतिक दलहरूको एकता र विभाजनमा पनि भूराजनीतिक शक्तिका भूमिका उपस्थित हुने गरेको छ । नेपालमा उत्तरको शक्ति बलियोरूपमा उपस्थित हुँदा नेपाल उत्तर कै पक्षमा र दक्षिणको शक्ति बलियो बनेर आउँदा नेपाल दक्षिणकै पक्षमा हुने गरेको छ । लिच्छवीकाल देखि नै नेपालको भूमिका यस्तै हो ।

३. परस्परको आक्रोश र कटुतालाई व्यवस्थापन गर्न समय नपुगेर वा सवैलाई आफ्नो हैसियतको जानकारी होस् भनेर पनि हुन सक्दछ । स्थानीय चुनाव अघि कम्युनिस्ट पार्टीहरुको एकीकरणमा भूराजनीतिक शक्तिहरूको निर्णायक पहल हुन सकेन । भएन ! तर स्थानीय चुनावको परिणाम घोषणा र संसदीय चुनावको घोषणावीचको अवधिमा कम्युनिस्ट पार्टीहरू वीचको एकता निश्चित लाग्दछ । जो वाधक हुन्छन् तिनीहरू पन्छाएर पनि एकता हुन्छ । कम्युनिस्ट पार्टीलाई ठूलो बहुमत सहित पुनः सत्तामा ल्याउने हरसम्भव हुन्छ । आक्रामक शक्ति र स्वरूपमा हुन्छ ।
४. स्थानीय चुनाव पछिको एमाले, माओवादी र समाजवादीको संयुक्त शक्ति संसदीय चुनावमा जाँदा देउवा, पौडेल र सिटौलाहरूको कम्युनिस्ट पार्टीहरूसँगको हालको गठबन्धनको भविष्य चौपट हुने स्पष्ट छ । अमेरिकासँग रणनीतिक प्रतिष्पर्धागर्ने क्रममा अमेरिकाको हवाई टापु र अस्ट्रेलिया वीचको सोलोमन टापुमा सैन्य अड्डा स्थापना गर्ने तयारीमा रहेको चीन, नेपालमा भूमिकाविहीन भएर रहँदैन , रहन सक्दैन । विश्वव्यापी रूपमै ऊ आक्रामक छ । अझै आक्रामक बन्दै जानेछ । चीनकै बलमा अमेरिका र युरोपसँग भिड्न युक्रेनमाथि बर्बर र मध्य युगीनशैलीमा आक्रमणगर्ने रूस । त्यो युद्धमा परोक्षरूपमा रूसकै पक्षमा देखिएको भारतले दिएको संदेश भनेको नेपालमा चीनलाई प्रसस्त ठाउँ छ ।

५. वर्तमानमा नेपालमा भारत मौन छ र चीन आक्रामक देखिन्छ । भारतको मौनता चीनकै पक्षमा रहने देखिन्छ । हाल युरोप र अमेरिकाका समाचार माध्यम, विज्ञ र विश्लेषकहरूले मोदी नेतृत्वको भारत सरकारलाई निर्वाचित निरङ्कुश सरकारको रूपमा चित्रण गर्ने गरेका तर चीनियाँ माध्यम , विज्ञ र विश्लेषकहरूले मोदी सरकारको प्रशंसा गर्ने गरेको अवस्थाले पनि धेरै कुरा संकेत गर्दछ । मोदी सरकार अमेरिका र युरोपको गुड बुकमा देखिन्न । सम्बन्धमा चीरा बढ्दै छन् । भारतीयहरुनै त्यो लेखिरहेका छन् ।

६. भारतको आन्तरिक राजनीतिक स्वार्थले पनि भारतलाई अमेरिका र युरोपबाट टाढा र चीन रूसको नजिक लाँदै छ । युक्रेन युद्धमा चीन र रूससँगै देखिएको भारत नेपाल मामिलामा चीनसँग सहकार्य गर्न तयार देखिन्छ । नेपालको चुच्चे नक्सा प्रकरण र हुम्लामा नेपाल चीन सीमानाको विवादमा भारत र चीन वीच कुराकानी नै नभएको होलात ? स्मरणीय यी सवै परिदृश्यलाई नजिकैबाट अध्ययन गरिरहेका हालका नेपालका लागि भारतीय राजदुत विदेश सचिव भएर जाँदै छन् । (नेपालकोलागि भारतको राजदुत हुँदै विदेश सचिव भएका श्याम सरणले नेपाली राजनीतिमा माओवादीलाई स्थापित गराए ।) नेपालकालागि राजदुत भएर विदेश सचिव हुने व्यक्ति भारतको नेपाल नीतिमा निर्णायक र अन्तिम हस्ताक्षर मानिन्छन् ।

७ . यी सवै सूत्र र बिन्दुलाई जोडेर एउटा खाकामा बुझ्नु दुष्कर छ । म जस्तो अल्प र अत्यन्त सीमित ज्ञान भएको लागि त झन् कठिन छ । अपेक्षा गरौँ नेपालको परराष्ट्र मन्त्रालय र दलहरूका विदेश विभागले यसबारे अध्ययन गरिरहेको छ ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार ०३:५४

Leave a Reply