काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कतिपय पालिकामा सहमति नभएका ठाउँमा सहमति जुटाउन नेताहरूलाई आग्रह गरेका छन् ।
बिहीबार भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कतिपय ठाउँमा बिगार्न खोज्नेहरू सक्रिय भएको बताएका हुन् । चुनावी गठबन्धन राष्ट्रिय आवश्यकता बनिसकेको भन्दै अध्यक्ष नेपालले भरतपुरमा रेनु दाहाल विकासप्रेमी मेयरको रुपमा स्थापित भइसकेको बताए ।
उनले भने,‘जसलाई सोधे पनि रेनु दाहाल विकासप्रेमी मेयर हो भन्छन् । त्यसैले यो भरतपुरमा उहाँले धेरै काम गरिसक्नुभएको छ । अब थप विकासका लागि पनि उहाँसँग योजना छन् । त्यसैले उहाँलाई भरतपुरले जिताउनुपर्छ।’ नेपालले नेकपा एमालेलाई ‘कुहिएको फर्सी’ को संज्ञा दिए । उनले एमाले र केपी ओलीका कुरा विश्वास गरे दुःख पाइने बताए ।
उनले भने, ‘एमाले कुहिएको फर्सी हो, त्यसको काम छैन । कुहिएको फर्सी छुनुभयो, खानुभयो भनेपनि रोगव्याधी लाग्छ ।’ उनले केपी शर्मा ओलीको वर्णन हजार जिब्रो भएको शेषनागले पनि गर्न नसक्ने बताए ।
उनले भने,‘केपी ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन् । महागफाडी हुन् । गफमा उनले विद्यावारिधी हासिल गरेका छन् । ओलीका कुरा हतारमा पत्यायो भने फुर्सदमा पछुताउनुपर्छ।’