No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पोखरामा पूर्वाधार विकाससँगै सुशासनका मुद्दा दलहरुको प्राथमिकतामा

0

जमुनावर्षा शर्मा, पोखरा । स्थानीय निर्वाचनको सरगर्मी बढिरहेका अवस्थामा यतिखेर साना, ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आआफ्ना चुनावी प्रतिबद्धतासहित घरदैलोमा भोट माग्न व्यस्त छन् ।

निर्वाचनमा प्रमुख प्रतिस्पर्धा हुने आँकलन गरिएको नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन र नेकपा एमाले चुनाव जित्ने आ–आफ्नै आधार दाबी गरेका छन् । ‘हाम्रो अभिभारा स्वच्छ सुन्दर पोखरा, श्रम सीप जुटाऔँ, पोखरालाई उठाऔँ’ भन्ने नाराका साथ नेकपा एमालेका उम्मेदवारले पनि चुनावी प्रतिबद्धतामा सुशासनसँगै विकास पूर्वाधारमा मनोरेल तथा मेट्रोरेल, पोखराबाट लुम्बिनीसम्म रेलमार्ग, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, वातावरणमैत्री विकाससम्मका योजनालाई लिएर घरदैलो गरिरहेका छन् ।

भौगोलिक हिसाबले पनि देशकै ठूलो महानगर पोखरामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापा र उपप्रमुख पदका उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो प्रतिबद्धतासहित जनतामाझ पुगेका छन् । महानगरको समृद्धिका लागि ‘एक घर एक सीप रोजगारीको आधारः समृद्ध पोखरा समाजवादको पूर्वाधार’ अवधारणालाई कार्यान्वयन गर्ने उल्लेख गर्दै प्रतिबद्धतापत्रमा भनिएको छ, “सहकारितामार्फत सहरी कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, पूर्वाधार निर्माण र मानव संसाधन विकासबाट सुदृढ अर्थतन्त्रको निर्माण गरी आगामी पाँच वर्षभित्रै पोखरालाई समुन्नत महानगरमा रुपान्तरित गर्ने योजना छ ।”

पोखरालाई कोरलादेखि त्रिवेणीसम्मको स्थलमार्गबाट जोडेर नेपालकै प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनाउने, वातवरणीय प्रदूषणलाई न्यूनीकरण गर्दै पोखरालाई पर्यटन तथा वातावरणमैत्री महानगर बनाउने, पोखरा विकास प्राधिकरणमार्फत नेपालको पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको प्रमुख केन्द्रका रुपमा विकास गरिने विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख छन् ।

महानगरमा पर्ने मध्यपहाडी लोकमार्गको खण्डलाई छिटो निर्माण गर्न केरुङ, काठमाडौँ हँुदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन कुरालाई एमालेले समेटेको छ । पोखरा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि मोनोरेल तथा मेट्रोरेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गरिने साथै प्रदूषणलाई न्यूनीकरण गर्ने विद्युतीय सवारी साधन सञ्चालन गर्नको लागि विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसनको रहने, व्यस्त सडक र चोकमा फ्लाइओभर, टनेल, आकासेपुल निर्माण गरी ट्राफिक व्यवस्थालाई सहज तुल्याइने, सहरी पूर्वाधारयुक्त नमूना बस्ती विकास कार्यक्रम लागू गरिने भनिएको छ ।

महानगरभित्र निर्माण गरिने भौतिक पूर्वाधार अपाङ्गमैत्री बनाइने कुरालाई पनि जोड दिइएको छ । महानगरमा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण, रङ्गशालाको स्तरोन्नति विषय पनि प्रतिबद्धतापत्रमा समेटिएका छन् । नेकपा एमालेकै पालामा सुरु भएको महानगरभित्रका ग्रामीण बस्तीमा खानेपानी आयोजना पूरा गरी ‘एक घर, एक धारा’को व्यवस्था गर्नु, सेती नदी विजयपुर खोलहर्पन, मर्दी, सुरौँदीलगायतका खोलामा स्थानीय जनसहभागिता आधारित साना जलविद्युत् आयोजना सञ्चालन गर्न प्रेरित गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै महानगरभित्रका फेवा, बेगनास, रुपा, दिपाङ, मैदी, खास्टे, गुँदे, न्यूरेनी, कमलपोखरीलगायतका सबै ताल एवं जलाधार क्षेत्रको एकीकृत विकासका लागि अल्पकालीन तथा दीर्घकालीन चरणबद्ध योजना सञ्चालन गर्ने जनाइएको छ । घर जग्गा, करसम्बन्धी कार्यलाई असल शासनको अनुभूति हुने गरी एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराइने र पर्यटनलगायतका उद्यमशीलता तथा व्यावसायिक क्षेत्रमा लगानी प्रवद्र्धन गर्न समन्वय एकाइको स्थापना गरी कार्यक्रम अगाडि बढाइने विषयलाई पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।

त्यस्तै कृषि विकासलाई पर्यटनसँग जोड्दै कृषि कर्जा सरल बनाई सहुलियत ब्याजदरमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई ऋण उपलब्ध गराइने, आगामी पाँच वर्षभित्र पोखरालाई देशकै उत्कृष्ट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन सूचना प्रविधि र वातावरणमैत्री महानगरपालिकामा रुपान्तरण गरिने र आधारभूत स्वास्थ्यका लागि स्वास्थ्य केन्द्र स्थापना गरी ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका, अशक्त तथा गर्भवती महिलाका लागि निःशुल्क स्वास्थ्य सेवाको प्रबन्धका साथै पौष्टिक आधार र भत्ता दिने विषयलाई पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।

त्यसैगरी पर्यटकीय सहर पोखरालाई भाषा, साहित्य, कला, संस्कृति र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न केही योजनालाई अघि सारिएका महानगर पालिकाभित्रका सबै जातजातिको भाषा, संस्कृति झल्किने गरी एक बहुसांस्कृतिक ग्राम निर्माण गरिने, महानगरमा पर्यटन प्रवद्र्धनका लागि होटेल रेष्टुराँ, होमस्टे रोयल ट्रयाकलगायतका पदमार्ग, पर्यटक गाइड, पर्यटक सूचना केन्द्र, पर्यटनको विकासको लागि सम्बन्धित संस्था र निजी क्षेत्रसँग सहकार्य गरिने उल्लेख छ ।

पर्यटकको बसाइ अवधि लम्ब्याउनको लागि आवश्यक कार्य गरिनेछ । यसका साथै सुशासन तथा संस्थागत सेवा प्रवाह ‘जनतासँग हसिलो अनुहार, मीठो बोलीः सेवाप्रवाहमा चुस्तता, आचरणमा शुद्धता र पारदर्शिता’ भन्ने विषयलाई पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । त्यस्तै विभिन्न राजनीतिक दलका उम्मेदवारले स्थानीयवासीको अपेक्षाबमोजिम समृद्ध पोखराको सपनालाई साकार पार्नका लागि मतदान गर्न आग्रह गरेका छन् ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार ०९:०२

Leave a Reply