रौतहट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशको दश महिना खेर फालेको आरोप लगाएका छन् । शुक्रबार रौतहटको सदरमुकाम गौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम नगरेको बताएका हुन् ।
गठबन्धनको चितवनमा बिहीबार भएको संयुक्त चुनावीसभामा माधव नेपाल र प्रचण्डको अभिव्यक्तिको आलोचना गर्दै अध्यक्ष ओलीले नेपाललाई नै कुहिएको फर्सी र कुलङ्गार भएको आरोप लगाए । चितवनमा आयोजित चुनावी सभामा माधव नेपालले नेकपा एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए ।
१५ वर्षसम्म पार्टीको प्रमुख रहेको र देशको प्रधानमन्त्री बनाएको पार्टीलाई आरोप लगाएर नेपालले आफ्नो प्रवृत्ति देखाएको ओलीले बताए । अध्यक्ष ओलीले माधव नेपाल नातावादमा अल्झिएको भन्दै रौतहटको विकास नगरेको र गर्न पनि नदिएको आरोप लगाए । आफूले पचास वर्षअघि महेन्द्र मोरङ क्याम्पसमा माधवकुमार नेपाललाई राजनीतिमा आउन प्रेरित गरेको भन्दै अध्यक्ष ओलीले सर्पलाई दुध खुवाएको सरह अहिले आफूलाई लागेको भनी पछुतो गरे ।
यसैगरी चितवन सभामा आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जाने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओलीले चितवनका जनताले डर र धम्कीविरुद्ध सल्लाह गरिरहेको बताए ।
ओलीले प्रचण्डको धम्कीलाई रुखको हाङ्गामा बसेर हाङ्गा हल्लाउँदै मान्छे तर्साउने बाँदरको संज्ञा समेत दिए । रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको बताएका ओलीले जिल्लाको विकासमा आफूले महतपूर्ण योगदान दिएको बताए ।