No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जी ७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

0

विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् । अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्ने अधिकारीहरूले जनाएका छन् । जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उनीहरूका बीचमा छलफल हुने जानकारी दिएका छन् ।

अहिले जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको जनाइएको छ । जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारहरुसँग भने, “जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नुहुने भएको छ ।”

उनका अनुसार भिडियो मार्फत हुने यस्तो बैठक यस वर्षमात्रै अहिले तेस्रो पटक हुन लागेको हो । दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ ।

बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन सङ्कटमा केन्द्रित हुने अधिकारीहरूले जनाएका छन् । बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेताहरूलाई जानकारी दिनेछन् । जी ७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रुसलाई आक्रमण अन्त्यका लागि दवाव दिने पक्षमा रहँदै आएका छन् ।

जी ७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्दछन् । ती सबै देशले पहिले देखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका थिए भने आ आफ्नो तर्फबाट युक्रेनलाई यसअघि पनि सहयोग गर्दै आएका थिए । गत फेब्रुअरीको अन्त्य तिर रुसले युक्रेनमाथि आक्रमण सुरु गरेकोमा अहिलेसम्म सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । ठूलो भौतिक क्षति पनि भएको छ ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार १७:१५

Leave a Reply