No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कसैको छोरीले चुनाव हार्दा देश दुर्घटनामा पर्ने कस्तो देश हो यो ?

0

केशवप्रसाद भट्टराई ।

श्रीलंकाको निर्वाचित पारिवारिक शासन आजको आर्थिक संकट र नेपाल सन्दर्भ
१. भाइ –गोताबाया राजापाक्षे (राष्ट्रपति)
दाइ – माहिन्दा राजापाक्षे (प्रधान मन्त्री)
सवै भन्दा जेठो दाइ –चमाल राजापाक्षे ( सिंचाई मन्त्री )
भतिजो – नामल राजापाक्षे ( युवा तथा खेलकुद मन्त्री )
अर्को भतिजो – शिशेन्द्र राजापाक्षे ( कृषि राज्य मन्त्री )
अन्य दुइ दर्जन त्यही राजापाक्षे परिवारका सदस्यहरू विभिन्न उच्च पदस्थ राजनीतिक नियुक्तिका अधिकारीहरू छन्, संसदमा पनि छन् ।

२. श्रीलंकाको विदेशी ऋण ५० अर्व डलर । यो वर्ष मात्रै मुक्तान गर्नु पर्ने ऋणको साँवा र ब्याज ८.६ अर्व डलर । चीनसँगको ऋण ५ अर्व डलर । मुलुकको विदेशी ऋण ७८ प्रतिशत राजापाक्षेहरुको सरकारको पालामा लिइयो । त्यसको एक चौथाई रकम त्यही परिवारद्वारा हिनामिना भएको अनुमान । अन्य राज्य खर्चका महलमा पनि व्यापक भ्रष्टाचार । त्यही परिवारको व्यक्ति राष्ट्रपति, प्रधान मन्त्री, मंत्री , वित्त, अर्थ क्षेत्रमा उनीहरूकै हालीमुहाली । भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा उनीहरुकै प्रभुत्व । कसले कसलाई नियन्त्रण गर्ने ?

३. नेपालका राजनीतिक दलहरूले पनि यही चरित्र प्रदर्शन गर्न खोजेका छन् । छोरी, बुहारी, पत्नी, भाइ सम्धी, साला–साली, जेठी सासू बाहेक यिनको प्राथमिकता छँदै छैनन् । छन् कोही अरू भने केवल पैसावाला छन् । धोक्रामा नोट भरेर भेट चढाउनेहरू ।

४. परिवारका सदस्यहरूको बलिदान छ, योग्यता र क्षमता छ भने किन नपाउने ? भन्ने प्रश्न उठ्छ । योगदान होला , बलिदान होला तर के परिवार भन्दा बाहिरकाको उनीहरूको भन्दा कम योगदान होला ? कम योग्य र सक्षम होलान् ? एक जना नेताले कुनै उम्मेदवारलाई कसैको छोरी र श्रीमती भनेर उल्लेख गरेकोमा महिलाहरूको अपमान भएको बताउनु भएको छ, तर बिडम्वना के हो भने उहाँहरूले महिलाको हैसियतमा नभएर कसैको छोरी र श्रीमती भएकै कारणले पार्टीको टिकट पाएको अवस्थामा के भन्ने ?
उनीहरू कसैको छोरी र श्रीमती नभएको भए त्यो टिकट पाउँथे ? के उनीहरूको पार्टीमा तिनले भन्दा बढी योगदान गरेका र बढी क्षमता र निष्ठा नभएका हुन् ? तिनीहरू भन्दा बढी योगदान दिने छैनन् ? त्यसको दावी गर्न सक्छनन् , उनी ? परिवारको एक जना राजनीतिमा भए पछि अर्कोले राजनीतिमा लाग्ने रहर त्याग्नु नै पर्दछ । त्यति त्यागगर्न नसके के त्यागको बखान गर्नु ?
एउटा हटेपछि अर्को आउनु स्वाभाविक हुन्छ ।

५. पार्टीहरूमा योगदानको अडिटिङ् हुन्न ? लेखा र अभिलेख राखिन्न ? त्यसो भएकैले हाम्रा पार्टीहरू चुनावमा उम्मेदवार दिने समेत अख्तियारी पाएका पारिवारिक एनजिओ जस्ता मात्रै हुनपुगेका छन् पार्टी ? त्यसैले तिनमा बाबु , दाजु , पति र ससुरा ज्वाईं , मामा, काका, सासू र जेठीसासू कै प्रभाव र बलमा अवशर पाउने हुन्छ । पद र अवशर परिवारको निजी सम्पत्ति जस्तै लिलाम बढाबढमा जाने गरेकोछ । यो पदमा पनि नाता, उ पदमा पनि नाता, यो पद र अवशर पनि बिक्रीमा त्यो पद र अवशर पनि बिक्रीमा अनि यसरी आएका व्यक्तिहरू निर्णायक र प्रभावशाली भूमिकामा छन् भने उनीहरुले गर्ने भ्रष्टाचारको छानवीन कसले गर्ने गराउने ?
त्यसैले राज्य पारिवारिक विर्ता जस्तै गरी चलेको छ ।

६. पति वा पिता पार्टीको केन्द्रिय राजनीतिमा निर्णायक हैसियतमा हुने अनि एक किसिमले अथाह बजेट कतिपय मन्त्रालयको बजेट भन्दा बढी बजेट भएको महा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाउँदा सो महा नगरपालिका पिता र पतिको राजनीतिको लागि लैनो भैंसी उपहारमा दिएको हो कि भन्ने किन नमान्ने ? त्यसकारण सरकारमा न्युनतम निष्पक्षता र स्वच्छता कायम राख्न पनि नेताले आफ्ना परिवारका सदस्यलाई राजनीतिमा र सरकारमा स्थापना गर्ने प्रयासलाई राम्रो मानिन्न ।

७. स्मरण रहोस – श्रीलंकाको राजापाक्षे परिवारको पारिवारिक शासनले चीनसँग लिएको ऋणको परिमाण उसको कूल ऋणको १० प्रतिशत भन्दा केही बढी मात्रै हो तर त्यो ऋण चर्को ब्याजमा लियो , आम रूपमा वाणिज्य बैंकहरूले जत्तिकै ब्याजमा लियो र हम्बनटोटा बन्दरगाह निर्माण र विकास जस्तो अनुत्पादक र प्रतिफल नदिने क्षेत्रमा लगानी गर्यो । स्मरण रहोस हम्बन्टोटा राजपाक्षे परिवारको गृह जिल्ला हो । त्यसैले त्यहाँ पैसा खन्याइयो , हाम्राले भ्युटावरमा पैसा खन्याए जस्तै । कुनै रंगशालामा पैसा ओहिर्याए जस्तै । हम्बन्टोटा बन्दरगाहमा गरेको लगानीको प्रतिफल १०० वर्षमा आउन नसक्ने देखे पछि श्रीलंका सरकारले त्यो बन्दरगाह ९९ वर्षको लागि चीनलाई नै लिजमा दियो । चीन त्यसमा सामरिक उद्देस्यले लगानी गरिरहेको छ । नेताहरू नेपालमा पनि श्रीलंकाको जस्तै पारिवारिक शासनको अभ्यास गर्दैछन् । केन्द्र देखि स्थानीय तहसम्मको स्थिति यही हो । त्यसले राजनीतिमा योग्य र सक्षम व्यक्तिहरूलाई हतास र निराश बनाएका छन् । स्वच्छ र निष्ठावानहरूलाई पाखा पारेका छन् । स्थानीय तहहरूलाई भ्रष्टाचारको अड्डा बनाएका छन् । भ्युटावर जस्तो अनुत्पादक क्षेत्रमा अर्वौँ खर्च गरेर ढुकुटी रित्याएका छन् ।
प्राकृतिक साधनको चरम दुरुपयोग, दोहन र शोषण गरेर वर्तमान र भविष्यको लागि पुर्याएको क्षतिले बाढी , पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुने महा त्राषद क्षतिको अनुमान पनि कहालीलाग्दो देखिन्छ । राष्ट्रिय जीवनको आधार बनेको डाँडाकाँडा र नदी प्रणाली ध्वस्त पारिएको छ । यसका कारण भोलीका दिनमा बाढी –पहिरोबाट हुने क्षतिको पूर्ति गर्न खर्वौँ खर्व डलर खर्चिएर पनि सम्भव नहोला । र त्यो रकम हामीसँग हुने छैन ।

८. कसैको छोरीले चुनाव हार्दा देश दुर्घटनामा पर्ने कस्तो देश हो यो ? कस्तो राज्य व्यवस्था हो यो ? राष्ट्रको प्रधानमंत्री त्यसमा सही थापेर बस्ने अधिकार राख्छन ? यस्तो पनि देश हुन्छ ? यो देशको नागरिक हुनुमा कसैले गर्व गर्न सक्दछ ? कसैले प्रधानमन्त्री पत्नीकै हैसियतमा आफ्नो पार्टीको मेयरले चुनाव नजितेमा बजेट नै बन्द गरिदिने धम्की कुनै सभ्य मुलुकमा कसैले दिन सक्दछ ? आफ्ना सत्ता सहयात्री र आफ्नी पत्नीको त्यो धम्कीकोलागि प्रधानमन्त्रीले मुलुक समक्ष क्षमा माग्नु पर्दैन ?

९. यसले पनि बताउँछ मुलुक गैर संवैधानिक तरिकाले चलेको छ । पारिवारिक विर्ता सरह चलेको छ ।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार ०४:०९

Leave a Reply