No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्यायपालिकाप्रति जनविश्वास बढाउन प्रतिवद्ध छुः कामु प्रधानन्यायाधीश

0

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाप्रति जनविश्वास बढाउन सुधारको काम गर्नुपर्ने र त्यसमा आफू प्रतिवद्ध रहेको बताएका छन् । कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी कार्कीले न्यायपालिकाको विकृति नियन्त्रणका लागि गठन भएको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन् ।

सन्देशमा भनिएको छ,‘न्यायिक मूल्य मान्यतामा भएको क्षयीकरणलाई निस्तेज गर्दै स्वतन्त्र न्यायपालिका सम्बन्धी मान्यता, संवैधानिक सर्वोच्चता, नागरिकको हकअधिकारको संरक्षणलगायत विधिको शासनको पालनामा न्यायपालिका प्रतिबद्ध भएर अगाडि बढिरहेको छ ।

न्यायपालिकाप्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागि छिटो छरितो, विश्वसनीय एवम् गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट थप क्रियाशीलता देखाउन आवश्यक छ ।’

उनले न्यायपालिकामा हुनसक्ने विकृति विसंगती पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेस गरेको प्रतिवेदनले औल्याएका सुझावहरू कार्यान्वयन भइरहेको र क्रमशः हुँदै जाने प्रतिवद्धता जनाएका छन् ।

सर्वोच्च अदालतले अल्पकालीन रुपमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको काम गरिरहेको भन्दै उनले दीर्घकालीन रुपमा स्वचालित पेसी व्यवस्थापन प्रणाली अपनाउने तयारी भएको बताएका हुन् । कोरोनाका कारण सेवा प्रवाह संकुचन भएको भन्दै उनले पुराना मुद्दा टुंग्याउन सर्वोच्च अदालत प्रशासन प्रतिवद्ध रहेको जनाएका छन् ।

प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइन्छ । ऐनमार्फत प्रधानन्यायालय स्थापना भएकाले आजको दिनलाई स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरण सम्बन्धी मान्यताको व्यवहारिक कार्यान्वयन भएको दिनको रुपमा स्मरण गर्ने चलन छ ।

 

प्रकाशित: २६ बैशाख २०७९, सोमबार ०३:२५

Leave a Reply