विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीले गरेको फैसला उच्च अदालत विराटनगरले बदर गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसला बदर गरेको हो ।
उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जिल्ला अदालत सुनसरीको फैसला बदर र सबुद प्रमाण बुझेर इन्साफ गर्न सुरु जिल्ला अदालतमा नै मुद्दा फिर्ता पठाउने फैसला भएको जानकारी दिए ।
उनले पीडित र पीडक पक्षबीच भएको मोबाइलको भ्वाइस कलको परीक्षण, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र र पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्नुका साथै अन्य प्रमाण बुझेर पुनः इन्साफ गर्नका लागि मुद्दाको फाइल पठाउने निर्णय गरिएको बताए ।
महिला अनुयायीमाथि करणीको मुद्दामा सहमतिमा नै शारीरिक सम्बन्ध भएको ठहर गर्दै गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।