No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अब ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्छः महामन्त्री थापा

0

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले बुधबार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा महामन्त्री थापाले कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले भने, “जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय तहको निर्वाचनले गरेको छ, यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो उपलब्धि र सफलता प्राप्त गरेको छ, अब आमनिर्वाचनको घोषणा हुन्छ, समय धेरै छैन, त्यसैले आजैदेखि त्यसको तयारीमा लाग्नुस् ।”

एमालेलाई जनताले दिएको विश्वासअनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको उनको भनाइ थियो । उनले अब कांग्रेसले जनताको पक्षमा मात्रै काम गर्दै अहिलेको सफलतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए।   स्थानीय तहको निर्वाचनको सफलताले देश नयाँ अध्यायमा प्रवेश गरेको उनको भनाइ थियो ।

महामन्त्री थापाले अबको आमनिर्वाचनमा भक्तपुरको उम्मेदवार चयनमा पार्टीले कुनै कमजोरी नदोहोर्याउने र भक्तपुरले रोजेकै व्यक्तिलाई टिकट दिने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको गर्नुपर्ने कामलाई कुनै पार्टी विशेष भनेर विभेद नगरी काम गर्न र गर्न नहुने काम कुनै पनि नगर्न निर्देशन दिए ।

उनले भने, “अब स्थानीय तहको जनप्रतिनिधिको मूल्याङ्कन पार्टीले गर्छ, तपाई मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल्नुस्, तपाईले गर्नुपर्ने कति काम गर्नुभयो र गर्नै नहुने कति काम गर्नुभयो कि भएन, त्यसको मूल्याङ्कन पार्टीले गर्छ, पार्टीले त्यसका लागि मूल्याङ्कन रिपोर्ट कार्डको व्यवस्था गरेको छ ।”

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार ११:३८

Leave a Reply