काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले सम्मान गर्न नसकेको बताएका छन् ।
स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले आफूहरुलाई फाइदा नपुगेको बताएका हुन् । उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गरे ।
१५ नम्बर वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाई थियो । खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने बताए ।