No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले एसपीपीलाई चुनावी एजेन्डा बनाउन खोज्योः प्रवक्ता महत

0

पर्सा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई चुनावी एजेन्डा बनाउन खोजेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यो धारणा राखेका हुन् । उनले भने, “ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ । तर, एजेन्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेन्डा नै बनाउन खोज्यो ।”

प्रवक्ता डा. महतले नेकपा  एमाले गएको स्थानीय तहको निर्वाचनपछि एजेन्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आउँदो संसदीय निर्वाचनलाई लक्षित गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप थियो । महतले नेपालले कुनै देश वा समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

एक अर्काे प्रसंगमा उनले वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनको सम्भावना कमै रहेको बताए । निजी क्षेत्रलाई प्रतिस्पर्धी रूपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणजस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गरे ।

निजी क्षेत्रको सक्रिय सहभागिताविना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग, व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने धारणा उनको थियो । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उनले बताए ।

प्रकाशित: ५ असार २०७९, आईतवार ०७:४८

Leave a Reply