पाँच वर्षअघि भएको क्रुर सैन्य दमनबाट भागेर बङ्गलादेशमा रहेका दसौं हजार रोहिंग्या शरणार्थीले म्यानमार फर्कने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् ।
दक्षिणपूर्वी बङ्गलादेशको कोक्स बजार नजिकै रहेको ३४ वटा शिविरहरूमा बाँस र त्रिपालको झुपडीमा बस्दै आएका उनीहरूले शिविरमा बस्दा रोजगारी, सरसफाइ र शिक्षाको पहुँचका लागि समस्या भएको बताउँदैै स्वदेश फिर्ता गरिदिनका लागि माग गरेका हुन् ।
अगस्ट २०१९ मा भएको करिब एक लाख जनाको बृहत् प्रदर्शनपछि उनीहरूलाई कोभिड–१९ सङ्क्रमणको समयलगायतका कारण देखाउँदै बङ्गलादेशको प्रशासनले शिबिर वरपर भेला हुन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो ।
अधिकारीहरूले रोहिंग्या समूहहरूलाई सोमबारको विश्व शरणार्थी दिवसभन्दा अगाडि एकैसाथ ‘घर फिर्ता जान’ पाउने माग राख्दै प्रदर्शन र भेला आयोजना गर्न अनुमति दिएका बताइएको छ ।