काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर राख्न नसकेको आरोप लगाएका छन् ।
मंगलबार परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको विदेश भ्रमणका सन्दर्भमा प्रतिपक्ष र विज्ञहरूसँग सल्लाह हुने प्रचलन रहेपनि अहिले तोडिएको बताएका हुन् । उनले प्रतिपक्षलाई कुनै जानकारी नदिई सरकार एकलौटी ढंगले अगाडि बढेको बताए ।
उनले भने, ‘हामी जहिलेपनि प्रधानमन्त्री बाहिर जान्छ भने त्यहाँ गएर के गर्छ ? भन्ने छलफल गथ्र्यौ र कसरी जाने, के गर्ने, त्यहाँ कस्तो विषय उठाउनुपर्छ परामर्श गरिन्थ्यो।’ अध्यक्ष ओलीले बाह्य राष्ट्रसँगको सम्बन्धको सञ्चालन राष्ट्रिय हितमा रहेर केन्द्रित हुन्छ भन्ने ठान्नुपर्ने बताए। उनले परराष्ट्र नीतिको सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक हुने बताए ।
उनले नेपाल कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नहुने बताए । उनले छिमेकी देशहरूसँगको सम्बन्ध भरपर्दो र विश्वसनीय हुनुपर्ने बताए । उनले भने, ‘हामीले द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । कुनै छिमेकीका विरुद्ध अरु कसैसँग भित्रभित्र साँठगाँठ गर्ने अनि बाहिर अर्कै कुरा गर्ने काम राम्रो होइन।’
अध्यक्ष ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नुलाई अर्घेल्याइँको रुपमा बुझ्न नहुने बताए । कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भूभाग भएकाले हामीले फिर्ता पाउनुपर्ने बताए ।