No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उडान रोक्ने निर्णयबाट पछि हटे वायु सेवा संचालक, आन्तरिक उडान नरोकिने

0

काठमाडौँ । आजदेखि उडान रोक्ने निर्णयबाट वायु सेवा संचालकहरु पछि हटेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार रातिसम्म चलेको बैठकमा वायुसेवा संचालक संघ आज बिहान ११ बजेपछिको उडान संचालन गर्न सहमत भएको हो ।

हड्ताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जहाज स्थानान्तरण र घोषित आन्दोलनका विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेपछि घोषित आन्दोलन स्थगन गरिएको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा भीड बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले जहाजले काठमाडौंबाहिरै अनिवार्य नाइट स्टप गर्नुपर्ने तथा पहिलो उडान उताको विमानस्थलबाट हुनुपर्ने निर्णय गरेको थियो । देशभर उडान गर्दै आएका नौवटा वायुसेवा कम्पनीका ५२ वटा विमानमध्ये २२ वटालाई मोफसलका ७ ठाउँमा ‘नाइट स्टप’ गर्न भनिएको थियो ।

त्यस्तै ११ वटा हेलिकोप्टर कम्पनीका ३८ मध्ये २१ वटालाई दुर्गम तथा पहाडका चार विमानस्थलमा बस्न भनिएको थियो । वायुसेवा संचालकहरुले मंगलबार नागरिक उड्डयन प्राधिकरणले जारी गरेको बेस व्यवस्थापन निर्देशनविरुद्ध बुधबारबाट सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका थिए। जसको प्रतिवाद गर्दै प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे संचालकहरुलाई पक्राउ पुर्जी जारी गर्दै उडान अनुमति नै खारेज गर्ने चेतावनी दिएको थियो । दुबै पक्षको चेतावनीपछि राति वार्ता भएको थियो ।

 

प्रकाशित: ८ असार २०७९, बुधबार ०१:२६

Leave a Reply