No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय

0

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच नागरिकता विधेयक अघि बढाउने सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक अघि बढाउने प्रस्ताव गरेका थिए । कार्कीले भने,‘प्रधानमन्त्रीले आजको बैठकमा नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गर्नुभएको छ । अहिले हाम्रो समाजमा बुबा नागरिक,आमा नागरिक तर उनका सन्तानहरू नागरिकताविहीन भइरहेको अवस्था छ । यसलाई अन्त्य गर्नका निमित्त अग्रसरता लिनका लागि आज निर्णय भएको छ ।’

नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो । त्यसपछि लामो समयसम्म संसद्को राज्यव्यवस्था समितिमा अड्किएको थियो । पटक पटकको छलफलपछि २०७७ असार ७ गते समितिले बहुमतबाट विधेयक प्रतिवेदन पारित भएको थियो र असार ९ गते संसदको पूर्ण बैठकमा प्रतिवेदन पेस भयो ।

संसद विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले  २०७८ जेठ ९ गते नागरिकता अध्यादेश जारी गरेका थिए । त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

प्रकाशित: ८ असार २०७९, बुधबार १३:०३

Leave a Reply