No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकाको सर्वोच्च अदालतद्वारा गर्भपतनसम्बन्धी अधिकार समाप्त हुने गरी फैसला

0

अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । यससँगै अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउनेछन् । यस आदेशले अब राज्यहरूलाई गर्भपतनलाई गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प दिएको छ ।

यो निर्णय सन् १९७३ मा वैध बनाइएको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका त्यहाँका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीहरूको निम्ति विजयको खबर हो । परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको सर्वोच्च अदालतमा उक्त निर्णयको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश थिए । रो विरुद्ध वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्च अदालतको निर्णयमा उल्लेख छ ।

अमेरिकी संविधानले गर्भपतनसम्बन्धी अधिकार स्पष्ट उल्लेख गरेको छैन । अघिल्ला राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका मनोनयनपश्चात् अहिले अमेरिकाको सर्वोच्च अदालतमा परम्परावादी न्यायाधीशहरूको बहुमत छ । तर अमेरिकामा मत सर्वेक्षणहरूले अधिकांश अमेरिकी महिलाहरू गर्भपतनको अधिकारको पक्षमा रहेको देखाएका छन् ।

यस आदेशले अमेरिकामा गर्भपतन अधिकारलाई परिवर्तन गर्नेछ जहाँ हरेक राज्यले त्यसलाई प्रतिबन्ध लगाउन सक्नेछन् । आधाजसो अमेरिकी राज्यहरूले नयाँ अवरोध वा प्रतिबन्धहरू लगाउन सक्ने अपेक्षा गरिएको छ ।

१३ राज्यले ’ट्रिगर ल’ भनिने केही कानुनी व्यवस्था तयार गरेर पारित गरिसकेका छन् जसले सर्वोच्चको यस आदेशसँगै अब स्वतः गर्भपतनलाई गैरकानुनी ठहर्याउनेछन् । यस्तो आदेश, अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको एउटा मस्यौदा दस्ताबेज चुहिएको केही सातापछि आएको हो।

प्रकाशित: १० असार २०७९, शुक्रबार १७:५४

Leave a Reply