No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होइन

0

काठमाडौं । नेकपा एमालेका १० भाइ मध्येका एक योगेश भट्टराई र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच केही दिनदेखि वाकयुद्ध चलेको छ । एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्न खोज्दा पार्टीभित्र देखिएको विवादलाई लिएर भट्टराईले नेपालको आलोचना गरेपछि वाकयुद्ध सुरु भएको हो ।

त्यसबेला भट्टराईले लेखेका थिए, ’एकीकृत समाजबादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी बिभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले बिभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ । हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्माबोध र पश्चातपः सिर्फ कहिले ?’

त्यसको जवाफ दिँदै माधव नेपालले दश भाइलाई दासको संज्ञा दिँदै आफ्नो पार्टीलाई धारेहात नलगाउन चेतावनी दिएका थिए । त्यसपछि फेरि आइतबार भट्टराईले माधव नेपाललाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका थिए । आफ्ना राजनीतिक गुरुलाई यसरी टिप्पणी गरेपछि भट्टराईको आलोचना भइरहेको छ । त्यसपछि सोमबार बिहानै भट्टराईले सामाजिक संजालमार्फत यस्तो स्पटीकरण दिएका छन् । भट्टराईको स्पष्टीकरण जस्ताको तस्तै ।

कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नुभयो । उहाँहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवन उपयोगी जवाफ फर्काएँ । समाजवादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु –“कमरेड माधव नेपाल दुईसय बर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

२. उहाँमा थुप्रै राम्रा गुणहरु छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतारचढाब रहेका छन् र यो जारी रहने छ ।

३. नेकपा एमालेको पाँचौ महाधिवेशन ( २०४९ ) मा उहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौं ।

४. छैठौ महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन ।

५. सातौँ महाधिवेशनबाट उहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।

६. आठौ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनौं ।

७. नवौ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।

८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएंँ ।

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होइन ।

पुनश्चः कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होइन ।

 

 

प्रकाशित: १३ असार २०७९, सोमबार ०३:२९

Leave a Reply