No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहले भने- निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक

0

बारा । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको निरीक्षणका लागि पुगेका गठबन्धन दलका शीर्ष नेताहरूले विमानस्थल निर्माणमा जोड दिएका छन् ।

शनिबार निर्माणधीन विमानस्थलको अवलोकनपछि शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा विश्वस्त हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त स्थान भएको बताए । उनले विधि र प्रक्रिया पूरा गरेर हालकै निर्माणधीन विमानस्थललाई पूर्णता दिइने बताए । उनले भने, ‘दुईवटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्डले निजगढ विमानस्थल निर्माणको कार्यलाई ढिला गर्न नहुने बताए । उनले भने, ‘यो विमानस्थल समयमै निर्माण सुरु नगरे करोडौं लगानी अलपत्र पर्छ। यतिमात्र होइन, फास्ट ट्रयाकको औचित्य पनि पुष्टि हुँदैन। त्यसैले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्छ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणको कार्यलाई भने रोक नलगाएको बताए ।
फैसलाको पूर्ण पाठअनुसार वातावरण र पूर्वाधार सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने उनको भनाइ थियो । यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निजगढ विमानस्थल निर्माणका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए। पाँच पाँच दशकपछिको अवस्थालाई मध्यनजर गरेर विमानस्थल निर्माणको कार्य अघि बढाउनुपर्ने उनको भनाइ छ।

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत विभिन्न विभागीय मन्त्रीहरू पनि निजगढ पुगेका हुन् ।

भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि रहेका थिए । शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गरेका थिए । वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरु पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् ।

प्रकाशित: १८ असार २०७९, शनिबार ०७:३४

Leave a Reply