No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लुम्बिनीमा सांस्कृतिकमा मनपरीः मेयरका छोरा, ज्वाईँ र अधिकृतको सालालाई नियुक्ति

0

बुटवल । वर्षौदेखि नगरपालिकामा कार्यरत कर्मचारी हटाएर मेयर र अधिकृतका आफन्तलाई भर्ना गरिएपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद सिर्जना भएको छ । नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले कुनै प्रक्रिया पुरा नगरी पुराना कर्मचारीलाई हटाउने र आफन्त र आफू निकटका कर्मचारीलाई भर्ना गरेको भन्दै उपप्रमुख र बहुमत वडा अध्यक्ष र कार्यपालिका सदस्यले विरोध गरेका छन्।

नगरउपप्रमुख कल्पना हरिजन लगायत बहुमत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले मंगलबार पत्रकार सम्मेलन गरी नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफ्ना छोरा, ज्वाइँ र सालोलाई भर्ना गरेर कर्मचारी नियुक्तिमा मनपरी गरेको बताएका हुन्।

हरिजनले गत असार ३० गतेको नगरसभामा कर्मचारी हटाउने र नयाँ नियुक्त गर्ने विषयमा कुनै प्रस्ताव र छलफल समेत नगरी असार ३१ गतेको कार्यपालिका बैठकको निर्णय भन्दै साउन १ गतेदेखि पुराना ९ जना करारका कर्मचारी हटाएर कुनै प्रक्रिया समेत पुरा नगरि साउन १५ गतेदेखि १३ जना नयाँ कर्मचारी भर्ना गरेको बताईन् ।

तर असार ३१ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार कर्मचारी हटाउने र भर्ना गरिएको भनिएपनि ३० गतेको नगरसभापछि कार्यपालिका बैठक नबसेको र त्यस्तो कुनैपनि निर्णय नगरिएको हरिजनले दावी गरिन् । हरिजनका अनुसार नयाँ भर्ना गरिएका १३ जना कर्मचारीमा नगरप्रमुखका छोरा जमिल अहमद खान, नातीनी ज्वाइँ जावेद आलम र प्रमुख प्रशासकीय अधिकृतका साला विभास त्रिपाठी समेत छन्।

खानलाई प्राथमिक स्वास्थ्य चौकी लौकापुरमा अहेव पदमा, आलमलाई असिस्टेन्ट सवईन्जिनियर र त्रिपाठीलाई कम्प्यूटर अपरेटरमा नियुक्त गरिएको छ। यसअघि २०७४ सालदेखि नगरपालिकामा कार्यरत ईन्जिनियर राजेश कोहार, आईटी अफिसर रुद्र पुरी लगायत ९ जना कर्मचारीलाई भने विना जानकारी साउन १ गतेदेखि नगरपालिकाबाट हटाईएको भन्दै हाजिर गर्न दिईएको छैन।

हरिजनले आफू अनुकुल काम नगरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नगरपालिकाका कतिपय प्राविधिक र स्वास्थ्यका कर्मचारीलाई समेत वडा सचिवमा खटाउने गरेको बताइन्। अधिकृत पाण्डेय कार्यालय समयमा अनुुपस्थित हुने र रातिको समयमा नगरपालिकामा गई हाजिर गर्ने र नियम विपरित निर्णय गर्ने गरेको उनको आरोप छ।

हरिजनका अनुसार पाण्डेयले आफू विदामा रहँदा निमित्त प्रसासकीय अधिकृत दिएका रचना गौतम पाण्डेलाई आफूले भने बमोजिम काम नगरेको भन्दै वडा नं. ७ र ८ को सचिवमा खटाएका छन्। गत साउन २० गते आफू विदामा बसेको र निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकी पाण्डेलाई सोही दिनको निर्णय भन्दै दुईवटा वडाको सचिवमा खटाएका हुन्।

त्यस्तै सोही दिन नै नगरपालिकाका योजना प्रमुख दामोदर पाण्डेलाई पनि वडा नं. १० को सचिवमा खटाएका छन् भने स्वास्थ्यका कर्मचारीलाई पनि वडा सचिव बनाएर खटाएका छन्। भगवानपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी शिव शंकर मल्लाहलाई वडा नं. १३ र तेनुहवा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी राजेन्द्र यादवलाई वडा नं. ११ को सचिवमा खटाएका छन्।

२० गते राति कार्यालयमा उपस्थित भई कर्मचारी अन्यत्र पठाउने निर्णय गरेका पाण्डेयले सूचना अधिकारी अशोक पाण्डेलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर त्यसयता कार्यालयमा उपस्थित भएका छैनन्। प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र अन्य कर्मचारीहरुका बीचको विवाद बढ्दै गएपछि गत साउन १५ गते पाण्डेयलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पाल्पाको रामपुर नगरपालिकामा सरुवा गरिएको पत्र आएको भएपनि त्यसलाई पनि अटेर गर्दै आएको उपप्रमुख हरिजनले बताइन्।

अहिले कर्मचारी नियुक्तिमा मनपरी गरेको भन्दै नगरपालिकामा कार्यरत पुराना कर्मचारीले कामकाज ठप्प पारेका छन्। नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अशोक पाण्डेले नियम विपरित कर्मचारी हटाउने र नियुक्त गरेको भन्दै कर्मचारीहरुको गुनासो आएकोले लिखित रुपमा नै नगरप्रमुखलाई जानकारी गराइएको बताए।

प्रशासकीय अधिृकत पाण्डेयले आफ्नो साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटरमा नियुक्ति गरेको स्वीकार गरेपनि अरु विषयमा भने आफ्नो बदनाम गराउन आफुमाथि आरोप लगाईएको बताए। नगरप्रमुख सजरुद्दिन मुसलमानले भने आफू बैठकमा रहेको भन्दै केही बोल्न चाहेनन्।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार १६:२३

Leave a Reply