काठमाडौँ । सत्तारुढ दलका तीन स्थानीय नेताविरुद्ध फोहोर बोकेको गाडी तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।
नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका– १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो ।
उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गराउन अरुलाई उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिएका छन् ।
गत सोमबार राति बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर र चार वटा डोजर तोडफोड भएको थियो । उनीहरुले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए ।