No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ठिक हो राष्ट्रपतिज्यू !

0

केशवप्रसाद भट्टराई

कसले पालना गरेको छ र संविधान र कानुन ? अनि हजुरलाई के खाँचो ? अहिलेका सत्तामा रहेका नरहेका सवै संविधान कानुन मिचेरै, संविधान –कानुन च्यातेरै आएका हुन् । राजनीतिको नाउमा जति मन लाग्यो उति मान्छे मार्न पाइने , बम हान्न,पुल उडाउन, विद्यालय– विश्वविद्यालय, पुस्तकालय र सरकारी कार्यालयहरूमा आगो लगाउनेहरूले निर्वाध शासन गर्न पाइने देश हो यो । यहाँ अर्काको धन सम्पत्ति जत्ति लुट्न पाइन्छ , सार्वजनिक जमिन देख्यो कि कब्जा गर्न पाइन्छ । बैंक डकैती गर्न पाइन्छ । अनि एउटा खेस्रो लेख्यो सरकारसँग सम्झौता गर्यो, सबै माफ । अनि मज्जाले सांसद ,मन्त्री ,प्रधानमन्त्री,न्यायाधीश, राजदुत , उपकुलपति,कर्णेल, जर्नेल हुन पाइने देश होइन यो ? एउटासँग सम्झौता गर्यो अनि अर्को आउँछ , फेरि अर्को । फेरी अर्को । अनवरत यही क्रम चलिरहने मुलुकमा के संविधान ? के कानुन ? सक्दा संविधान र कानुनलाई जसले धोती लगाउन सक्छ उही बहादुर मानिने मुलुक हो यो । अनि महान क्रान्तिकारी बनिने ।
संसदले संविधान र कानुन मिच्न हुन्छ !
सरकारले हुन्छ !
अदालतले हुन्छ !
राष्ट्रपतिले हुँदैन ?
संविधान आउँदा नै बाटो बिराएर आएको संविधान हो यो !
त्यसैले यहाँ बाटो बिराउनेहरू मात्रै छन् !
अनि उनीहरूनै शासन गर्दछन !
उनीहरू मात्रैले !
मिच्न कै लागि संविधान र कानुन बनाइन्छ यहाँ !
अर्को कुरा !
मूलमा संविधान र कानुन भनेको शासक वा शासक समूहको आदेश हो । आदेश दिनेले संविधान र कानुन पालना गर्नु पर्दैन । सरकार, संसद , राष्ट्रपति र सर्वोच्च कसैले यो मुलुकको सम्विधान र कानुनलाई पालना गर्नु पर्दैन किन कि उनीहरू आदेश दिने व्यक्ति र समूह हुन् ।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार ०४:१७

Leave a Reply