No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेलम्ची, इन्द्रावतीमा पाइन थाले माछा

0

मेलम्ची । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ ।

मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे ।

पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ । “माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भनिन् ।

काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आएको बताउँछन् । मेलम्चीका माछा निकै स्वादिलो भएको उनी बताउँछन् । यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् ।

अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेशा बाढीका कारण सङ्कटमा परेको थियो ।

बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताए । उनले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आएका छन् । प्रतिकिलो एक हजार एक सय रुपैयाँसम्ममा बेच्ने गरेको उनले बताए ।

माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन् । बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो ।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार ०५:५६

Leave a Reply