No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आन्तरिक मामिलामा त राष्ट्रपतिज्यूबाट बल मिच्याइँ भएकै थियो, अब परराष्ट्र मामिलामा पनि ?

0

केशवप्रसाद भट्टराई ।

१. ठिक बेठिक आफ्ना ठाउँमा होलान् तर नागरिकता विधेयकमा सत्तारूढ दल, सरकार, संसद र सम्माननीय राष्ट्रपति सबैबाट बलमिच्याइँ भयो । सबैको अहंमाथि एक अर्काले प्रहार गरे । त्यस्ता महत्वपूर्ण विधेयक प्रस्तुत गर्नुअघि सरकारले राष्ट्रपतिलाई पूर्व जानकारी गराउने व्यवस्था पनि यही संविधानले गरेको छ । त्यसको अर्थ परामर्श पनि होला । त्यो नभएको देखियो । नभएको नैहो भने प्रधानमन्त्रीको तहबाट त्यो गलत भयो । त्यो नहुनु पर्थ्यो।

२. तर जसको जेसुकै अभाव र कमजोरी भएपनि सार्वभौम संसदको निर्णयलाई चुनौती दिने अधिकार राष्ट्रपतिलाई छैन । राष्ट्रपतिज्यू भन्दा पनि कुनै राष्ट्र र जनता प्रति कुनै परिभाषित कर्तव्य र दातित्व नभएका राष्ट्रपतिज्यूका सल्लाहकारहरू सल्लाहकारकै हैसियतमा सरकार र संसद विरूद्ध सार्वजनिक सञ्चारमा प्रस्तुत हुनु अत्यन्त अशोभनीय र अमर्यादित कार्य थियो । तर सार्वभौम संसदले दोहोर्याएर पारित गरेर पठाएको विधेयकलाई प्रमाणीकरण नगर्नु जुन सम्विधान अन्तर्गत उहाँ राष्ट्रपति हुनुहुन्छ –त्यो संविधान र जुन संसदबाट उहाँलाई त्यो पदीय हैसियत प्राप्त भयो त्यो संसद दुवैको घोर अपमान भयो । अवमूल्यन भयो ।

३. तर सवैले आफ्नो पद र मर्यादालाई, संविधान र कानुनलाई क्षतविक्षत बनाइरहेको अवस्थामा, राष्ट्रिय मर्यादाको खिल्ली उडाइरहेको अवस्थामा सम्माननीय राष्ट्रपतिज्यू म पो के कम भनेर आउनुभयो । त्यसलाई पनि ल भैगयो यस्तै हो भनौ रे । दुई महिना पछि नयाँ संसद आउँछ, नयाँ सरकार र त्यसको केही पछि नयाँ राष्ट्रपति, यत्तिका वर्ष त ढिलो भयो भयो अब दुई महिना भन्न सकिन्छ ।

४. तर भारत र अमेरिकाको चीनसँगको सम्बन्धको स्तरमा अत्यन्त कटुता, अविश्वास र एक किसिमको शत्रुतापूर्ण सम्बन्ध रहेको बेलामा, उदाहरणको लागि भर्खरै सम्पन्न साङ्घाई कोअपरेसन अर्गनाइजेसनको समरकन्द शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङ्गवीच द्विपक्षीय भेटघाट र वार्ताको त कुरै उनीहरूले एक अर्काबीच हात पनि नमिलाएको संचार माध्यमहरूले बताए । त्यस्तो अवस्थामा सरकारको विमतिको बाबजूद चीनको अमेरिका, भारत लगायतका मुलुकहरू लक्षित चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ जस्तो चीनको विश्वव्यापी सुरक्षा रणनीति अन्तर्गतको कार्यक्रममा भर्चुवल्ली सहभागी भएर सम्वोधनगर्नु राष्ट्रको परराष्ट्र नीति र राष्ट्रको वृहत्तर सुरक्षा हित विपरित समेतको कार्य हो । राष्ट्रपतिको पदको गरिमा र मर्यादालाई बारम्बार यसरी अवमूल्यन गर्नु पनि शोभनीय भएन,हजुर ! हजुर एमालेको अखिल र युवा सङ्घको कार्यकर्ता त होइन नी !

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार ०७:००

Leave a Reply