No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

किन काङ्ग्रेस र एमाले नै ?

0

केशवप्रसाद भट्टराई ।
१. मानव सभ्यताको सवैभन्दा ठूलो उपलव्धि भनेको स्वतन्त्रताको चेतना र प्रजातन्त्र हो । नेपालमा नेपाली काङ्ग्रेस त्यस्तो स्वतन्त्रताको चेतना र प्रजातन्त्रको पहिलो र सवैभन्दा शक्तिशाली आवाज र प्रतिनिधि सँस्था हो । नेतृत्व र पदाधिकारीहरू अवशरवादी भए, सिद्धान्तच्यूत भए । भए होलान् । भ्रष्ट भएनन् भन्न पनि सकिन्न, भ्रष्टाचार गरेकै छन् । कतिपय अवस्थामा प्रणालीले पनि भ्रष्टाचार गराउँछ । नीति, नियम, कानुन र संविधानले पनि भ्रष्टाचार गराउँछ । यो कुनै व्यक्ति वा दल विशेषको मात्रै कुरो रहेनछ भन्ने कुरो हाम्रै अभ्यासले पनि सावित गरेको छ । यसलाई प्रणालीद्वारा नै नियन्त्रण र नियमन गराउने कुरा भयो ।

२. तर नेता र पदाधिकारीहरू जस्ता भए पनि काङ्ग्रेसको चुरो, समग्र संगठन र यसका मतदाताहरू अझै पनि स्वतन्त्रता र प्रजातन्त्रका मूल्यहरूप्रति उत्तिकै इमान्दार छन् । प्रतिवद्ध छन् । नेतृत्व वा पदाधिकारी भनेका आज छन् –भोली छैनन् त हो नी । अर्को कुरा, काङ्ग्रेस कमजोर हुनु भनेको मुलुकमा प्रजातन्त्र कमजोर हुनु हो । स्वतन्त्रताको पक्ष र चेतना कमजोर बन्न पुग्नु हो । त्यसैले कुनै नेतृत्व वा पदाधिकारी विशेषका दोष वा अभावका लागि चुनावमा काङ्ग्रेस पार्टी दण्डित हुनुहुन्न । सिङ्गो काङ्ग्रेस पङ्क्ति लाञ्छित हुन सक्दैन ।

३. स्थापित र ठूला दल हरूमा नेपाली काङ्ग्रेस पछि नेपालमा प्रजातन्त्रको ठूलो र भरपर्दो स्तम्भ भनेको नेकपा एमाले नै हो । साम्यवादलाई आफ्नो अभिष्ट बनाएर करीव दुई दशकको सांगठानिक अभ्यास गरेर आएको तत्कालीन मालेलाई एकैचोटी बहुदलीय प्रजातन्त्रको पक्षमा उभिन सहज थिएन –त्यसैले जनताको बहुदलीय जनवाद भनेर उनीहरू आए । एउटा जार्गन प्रयोग गरे । त्यो एउटा रणनीतिक अझ प्रष्ट भन्दा कार्यनीतिक सवाल मात्रै थियो । सारमा त्यो बहुदलीय प्रजातन्त्र नै थियो र त्यसको तीन दशकको व्यवहारिक अभ्यासबाट त्यो सावित पनि भैसकेको छ । हो, एमालेमा प्रशस्त विकृति छन्, अभाव छन्, अवशरवदिता कम छैन –काङ्ग्रेसमा भन्दा अझ बढी छ । मूल्य विचलन पनि छ ।

४. तर त्यो अभ्यासबाट नै क्रमशः सुध्रिँदै र सच्चिंदै जाने कुरा हो । हजारौँ र लाखौँको सङ्ख्याबाट नेतृत्व चुनिदै आउने व्यवस्था वा बालिग मताधिकारबाट स्थानीय , प्रदेश र केन्द्रिय सरकार गठन हुने प्रणाली भनेको सम्झौताको प्रणाली हो । सम्झौतामा कतै उचनीच हुन्छ । अभ्यास गर्दै र हुँदै जाँदा सच्चिने कुरा हो त्यो मूल कुरो एमालेको प्रजातन्त्रप्रतिको प्रतिवद्धता स्थापित छ, प्रष्ट छ । व्यक्तिगत स्वतन्त्रताका मूल्य र चेतनाका सवालहरूमा प्रश्न उठाउन सकिने ठाँउ छन् तर ती मूल्य र चेतनाहरूलाई उसले अस्वीकार गर्न सक्दैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रजातान्त्रिक दलको रूपमा उसको जुन पहिचान स्थापित छ त्यसलाई बदल्न संगठनको रूपमा उसलाई संभव छैन । त्यसकारण एमाले एउटा भरपर्दो राष्ट्रिय प्रजातान्त्रिक शक्ति हो । व्यक्तिगत स्वतन्त्रताको संरक्षक बालियो संगठन हो ।

५. अन्य दलहरूले आफ्नो पहिचान बनाइसकेका छैनन् । आफ्ना विचार र मान्यताहरूलाई स्थीर बनाउन सकेका छैनन् । वर्षे पिच्छे विचार र दल फेर्ने नेताहरू र मान्यता र आदर्श बदल्ने दलहरूको परीक्षा हुन पनि बाँकी छ । स्वतन्त्र उम्मेदवारहरूको कुरो नगरौँ –अहिले । बालेन र हर्कहरूलाई कतै गलत तरिकाले उहाँहरूले बुझ्नु भएको पनि हुन सक्दछ । उनीहरूलाई अनुशरण गर्दा उनीहरूको सांगठानिक कौशल र क्षमताको अनुशरण भयो ÷भएन ? समयले बताउला !

६. त्यसैले जव मतदानको दिन नजिकिँदै जाँदा मतदाताहरू पनि प्रष्ट हुँदै जानु पर्दछ । त्यसैले कुनै प्रजातन्त्रवादी र व्यक्तिगत स्वतन्त्रताको पक्षधर व्यक्तिको पहिलो रोजाई – नेपाली काङ्ग्रेस हो– हुनुपर्दछ । र दोस्रो एमाले हो भन्ने मेरो विश्वास छ । त्यसैले जहाँ काङ्ग्रेसका उम्मेदवार छन् –त्यहाँ भोट काङ्ग्रेसलाई । जहाँ काङ्ग्रेस छैन, त्यहाँ एमालेलाई । लामो राजनीतिक इतिहास भैकन पनि हारी नसक्नुका साह्रै योग्य, सक्षम र इमान्दार र स्वच्छ छविका व्यक्ति छन्– वा मुलुकको शिक्षा, स्वास्थ्य , उद्योग व्यवशायमा वा कुनै पेशामा वा सार्वजनिक जीवनमा रहेर राष्ट्रको लागि विशिष्ट योगदान पुर्याएका व्यक्ति कतै उम्मेदवार छन् भने त्यस्ता व्यक्तिको सम्मान गर्ने हकमा दलको सीमा वाधक बन्दैन नै । तर समग्रमा काङ्ग्रेस र एमाले नै । यो यस कारण पनि कि काङ्ग्रेसका अभावहरूलाई सच्याउने सामर्थ्य एमालेसँग मात्रै छ र एमालेका अभाव र कमीहरूलाई काङ्ग्रेस बाहेक कुनै अर्को दलले सुधार्न र सच्याउन सक्दैन । कसले कहाँ के भने –त्यो अर्कै कुरा हो –चुनावको समयमा भैरहन्छ । प्रजातन्त्रमा प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हो । एउटा प्रजातान्त्रिक दलको विकल्प अर्को प्रजातान्त्रिक दल मात्रै हो । त्यसैले प्रजातन्त्रको कसीमा–
एकः काङ्ग्रेस
दुईःएमाले

 

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार ०६:२९

Leave a Reply