ठाकुर पोखरेल ।
”दशकौँदेखिको कुसंस्कृत राजनीतिको जरा हल्लाउन अब वैकल्पिक शक्ति एक मात्र विकल्प हो’
पुराना दलको कार्यभार र अबकोऔचित्य-:
हाम्रा अग्रज नेताहरुले हरेक १०/१५ वर्षको अन्तरालमा कुनै न कुनै रूपमा राष्ट्रिय राजनीतिमा सक्रिय हुदै चुनौतीपूर्ण क्रान्तिकारी काम गरी निरंकुशतालाई पराजित गर्दै आएको ऐतिहासिक वि सं १९९० को दशक देखि ”जहानियाँ राणा शासन हटाउ” आन्दोलनले २००७ साल पुरा गर्यो,२०१७ सालमा सुधारिएको पञ्चायती व्यवस्था (काङ्ग्रेसको अहमता तोड्दै) २०३६ सालमा निर्दलीय कि बहुदलीय व्यवस्थाका लागि जनमत संग्रह, २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना र गणतन्त्र ल्याउन भएको १० वर्षे जनयुद्धको बलमा २०६२/०६३ को जनआन्दोलन दुई बाट नेपालमा २३८ वर्ष देखिको राजतन्त्रको अन्त्य भएको थियो भने लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काम विधिवत् रूपमा नेपालको अन्तरिम संविधान २०६३ र संविधान सभा (१) २०६४ र (२) २०७० को संविधानसभा ले पारित गरेको नेपालको संविधान २०७२ ले लोकतान्त्रिक गणतन्त्र सहित विधिको शासन, समानता/ समावेशीता सहित विविधता युक्त समाजलाई सम्बोधन गरेको, आजसम्म नसमेटिएका मौलिक हक अधिकारहरुको व्यवस्था नेपालको संविधान २०७२ ले स्थापित गरेको पाइन्छ। यी र यस्ता कार्य पुरा गर्ने काम पुराना दलहरुले गरेकै हुन त्यसका लागि वहाँहरुलाई सम्मान सहित धन्यवाद दिनै पर्छ। तर अब नागरिकका अवस्थामा सुधार गर्न पुराना बाट संभव देखिएन। बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पछि २०४८ बाट गणना गर्दा नेपाली कांग्रेस र एमाले कम्युनिष्टले ३१ वर्ष नेपालको राज्य सत्ता संचालन गरे तर नागरिकको जनजीवनमा कुनै बदलाव आएन, उल्टै शिक्षा, स्वास्थ्य, रोजगारीका बिषय झनै जटिल बन्दै गयो,वैदेशिक रोजगारीमा जानेले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलिरहेको, गतवर्षको तथ्याङ्क अनुसार बैदेशिक ऋण १८ खर्ब मागिसकेको, राज्य संचालन गर्नेहरु चरम भ्रष्टाचार र बेथितिमा रमाउने परिपाटी बाट अब पुराना राजनीतिक दलका योजना र कार्यक्रमलाई निरन्तरता दिदै जाने हो भने हाम्रो देशले पनि श्रीलंकाको जस्तो आर्थिक गतिविधि र धरासायी अवस्थामा पुग्ने कुरा अर्थवीद हरुबाट विश्लेषण हुँदैआएको छ। सर्वसाधारण नागरिकका लागि नि:शुल्क शिक्षा, स्वास्थ्य सहित देशको सम्पन्नता र नागरिकका मानवीय सुख सुविधा, सुशासन कायम राख्ने दायित्व राज्य संचालन गर्ने कै हो तर हाम्रो देशमा राजनीतिक गर्दै सत्तामा पुगेका दलहरु बाटै निराशाजनक परिस्थितिमा पुर्याउनु दु:खदायी अवस्था हो।
त्यसकारण पनि पुराना दलका नेतृत्वको सोचबाट एकाइसौं शताब्दीको जनचेतना र भावनालाई सम्बोधन हुन सकेन, अब बिकल्प खोज्दै जानुपर्छ। ‘सर्व जन हिताया’ लाई मध्यनजर गर्दै बैकल्पिक बिचार सहितको राजनीतिक दलको खोजी गरौ।
‘जनताले कांग्रेस कम्युनिष्टको बिकल्प खोजेका छैनन् भन्ने हुँदै होईन। बरु विकल्पमा आउँछु भन्नेहरुलाई बिश्वास नगरेका हुन् ।’
____________________________
विगत ८ वर्ष अघिदेखि बैकल्पिक राजनीति को अभियान चलाउदै आएका सबै नेता कार्यकर्ताहरु विना हिचकिचाहट एउटै एजेण्डामा छलफल गर्न तयार हुनैपर्छ। बैकल्पिक राजनीतिका वाहकहरु अग्रगामी कार्यदिशा सहित एकै मूलबाटोमा उभिनु अपरिहार्यता हो।
आमनिर्वाचन र युवाहरु परिचालन -:
स्वच्छ छवि भएका पहिलो पटक चुनावमा उमेद्वारी दिएकाको लागि लोकतान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धा हुनु र त्यसतर्फ धेरै भन्दा धेरै नव जवानहरु आकर्षित हुनु देश र समाजका लागि अग्रगामी राजनीतिक मार्ग हुन सक्छ, पुरानालाई विस्तापित गर्दै नयाँ तरिकाबाट अग्रगामी कार्यदिशा सहित अगाडि बढ्ने सकरात्मक सन्देशका रुपमा लिन सकिन्छ, तर पुराना दलका ‘पटके र चटके’ राजनीतिक कार्यदिशा र शारीरिक वृद्ध हजुर ‘बा’ हरुले उमेद्वारका लागि मरिहत्ते गरेको देख्दा नेपालको सदन र राज्य सत्ता वृद्ध आश्रम हो कि जस्तो ! तिनै पटक पटक सत्तामा पुगेर पनि देश र समाजका लागि सुशासन र आर्थिक समृद्धि दिलाउन नसक्ने, वर्गिय हितमा काम नगरेका फेलियरलाई नै भोट माग्न हिड्ने युवा-युवतीहरु त पाल्तु र बफादार का रुपमा दुरुपयोग हुनु देश र राष्ट्रिय हितको विपरीत काम हो। नेपालको अहिलेको राजनीति बुझेका बरु स्वतन्त्र हैसियतमा उमेद्वारी दिएका युवा युवतीहरु को आँट र साहस एक प्रकारको बैकल्पिक राजनीति तिरको आकर्षण र पुराना दलहरुको कुकर्म प्रतिको घृणा नै हो ! यहाँ त एक दुई छाक भात,जाँड- रक्सी र दुई चोक्टा मासुमा बिक्री हुने मतदाताको भोट नै निर्णायक मत हुने स्थितिमा पुर्याउने कुसंस्कार तिरको पद्धति, अनि हामी त्यसैलाई स्वस्छ र लोकतान्त्रिक पद्धति हो भन्छौ ! अझ गर्ब गर्दै धन,डन र प्रलोभनमा जनमत संकलन गरेर चुनाव नलड्ने, जित्ने, सत्तामा पुग्ने अनि चरम भ्रष्टाचार, बेथितिमा रमाउने परिपाटीलाई प्रजातान्त्रिक अभ्यास देख्ने पुराना दल काङ्ग्रेस-कम्युनिष्ट भित्रका कुसंस्कारेहरुको पक्षमा वकालत गर्छौ ! के यसै लाई नै लोकतान्त्रिक अभ्यास मान्ने हो त ? आफ्नो सार्वभौम अधिकार र भोटको महत्व वारे सर्वसाधारण नागरिक समक्ष जनचेतना जगाउने कार्यक्रम कहाँबाट, कस्ले, कसरी दिने, दिलाउने ? राजनीतिक दलको राजनीतिक चरित्र ईमान्दारिता र सही मार्गमा जनचेतना दिने दिलाउने पनि त होनी । तर हाम्रो देशमा राजनीतिक दलले जनतालाई कित्ता कित्तामा हुक्के, बैठके बनाएका छन्।
बहुदलीय प्रजातन्त्रको स्थापना भएको ३३ वर्ष हुदाँ सम्म पनि यही कुसंस्कार बसालेका पुराना दलहरुले अझै आफुहरु नै सर्वेसर्वा सम्झनु लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन नदिने वाधक हुन भन्ने कुरा बुझ्न कठीन छैन। – लोकतन्त्रको सुन्दर पक्ष के हो भन्ने बुझाउने स्वतन्त्र अभ्यास र जनचेतना जगाउने राजनीतिक पार्टी कुन हो खोई त ? यही र यस्तै छल छाम हुदै अध्यारो यात्रा तिर मोडिएको लोकतन्त्र लाई सत्मार्गमा डोर्याउने र सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि ‘वैकल्पिक राजनीतिक दल’ अबको अपरिहार्य सर्त हो, पुराना दलहरुले बिराएका वा बिर्सिएका अग्रगामी कार्यदिशा पूरा गर्नका लागि ‘वैकल्पिक राजनीतिको मूलबाटो’ कोर्न अब ढिलासुस्ती नगरौ । सबैको जय होस्