No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसमा फाइनल धक्काका लागि तिनलाई सफलता मिलोस्

0

नारायण गाउँले ।

शीर्ष भनिने तीन नेतालाई चुनौती दिन या विस्थापित गर्न सक्ने दोस्रो पुस्ताका नेताहरू नगण्य छन् । तिनका अधिवेशन देख्नुभयो नै । एमालेको अधिवेशनमा पदाधिकारीको लिस्ट नै ओलीले पढेर सुनाए । त्यहाँ ओलीलाई प्रश्न गर्ने हैसियत भएका युवा देखिएनन् । प्रचण्डको अधिवेशन त उनलाई अनुमोदन गर्नमात्रै आयोजना भयो । पदाधिकारी त उनले जहिले र जसरी बनाए पनि हुने भयो । कांग्रेसको महाधिवेशनमा देउबाले जित्ने निश्चित जस्तै थियो । तर गगन थापा र विश्वप्रकाश शर्माले देउबाविरुद्ध उभिने साहस मात्रै गरेनन्, राजनीतिलाई दोस्रो पुस्तामा ल्याउन केही हदसम्म सफल पनि भए । गोजीबाट टीका लगाएर आएको भए तिनले पनि देउबाको गीत या ऱ्याप गाउन बाध्य हुन्थे ।

दलीय व्यवस्थामा केही राम्रा र स्वतन्त्र उम्मेदवारले जित्दा पक्कै नयाँ तरङ्ग आउँछ र राजनीतिलाई सफा गर्न मद्दत हुन्छ तर ठूला पार्टीभित्रै आमूल परिवर्तन नभई त्यसले कोल्टे फेर्दैन । अझ सजिलो गरी भन्दा एमाले र कांग्रेस रूपान्तरण नभई तत्काल राजनीति तङ्ग्रिँदैन । कांग्रेसमा फाइनल धक्काका लागि तिनलाई सफलता मिलोस् भन्ने चाहना छ !

यी दुईमा युवा हुनुबाहेक पनि राजनैतिक संस्कार र भिजन अन्यभन्दा खास देखिन्छ । उपलब्ध स्रोत, सीमा र सम्भावना बुझेर होला, तिनले देशलाई पाँच वर्षमा सिङ्गापुर बनाउने या विश्वकै नमुना बनाउने भाषण गरेको सुनिन्न । प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा देउबाको संसदमा एउटा प्रस्तुति पनि सम्झन लायक थिएन । गगन थापाका अध्ययन र विश्लेषण सहितका तार्किक र तथ्यगत प्रस्तुतिहरूले सिङ्गो प्रतिपक्षको लाज धानेको थियो ।

यही राजनैतिक सिस्टमबाट आएका हुनाले यिनमा पनि अनेक कमजोरीहरू स्वाभाविक रूपमै छन् र पनि, राष्ट्रिय-अन्तर्राष्ट्रिय फोरम या द्वि-बहुपक्षीय वार्ता र नेगोसिएशनहरूमा प्रभावकारी भूमिका निभाउन सक्ने क्षमता, अध्ययनशीलता, अपेक्षाकृत शालीनता, आफ्नै पार्टीमा समेत फ़रक मत स्पष्टसँग राख्न सक्ने जुझारू पन, अर्थतन्त्रको स्वास्थ्य र चुनौतीबारे गम्भीरता र एउटा सिङ्गो पुस्तालाई उत्प्रेरित गर्न सक्ने व्यक्तित्व जस्ता गुणहरूले गर्दा अबको नेतृत्व गगन थापा र विश्वप्रकाशहरूमा गए हुन्थ्यो भन्ने लागेको हो । कम्तिमा एउटा दलबाट परिवर्तन सुरु भयो भने यो सबैतिर फैलिनेछ ।
मतदाता नभएकाले मैले दिन सक्ने त शुभकामना मात्रै हो !

प्रकाशित: १ मंसिर २०७९, बिहीबार १०:३३

Leave a Reply