No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनमा आत्मसमर्पण गरेका आफ्ना सैनिकको हत्या भएको रुसको आरोप

0

पूर्वी युक्रेनमा लडाइँ भइरहेको क्षेत्रबाट बाहिर आएको एउटा भिडियोमा सैनिकहरूको एउटा समूहले आत्मसमर्पण गरेको र पछि हत्या गरेको देखाइएको छ । रुसले उक्त फुटेजमा प्रतिक्रिया जनाउँदै युक्रेनले रुसी युद्धबन्दीहरूको हत्या गरेको र त्यो युद्ध अपराध भएको बताएको छ ।

ती आरोपबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । उक्त घटना लुहान्स्क क्षेत्रको माकिइब्का गाउँमा १२ नोभेम्बर शनिबार वा त्यो भन्दा अघि भएको थियो । शनिबार अबेर र आइतवार युक्रेन समर्थक साइटहरूमा प्रकाशित ड्रोन फुटेजमा कैयौँ सैनिकहरूको शव खेतमा ढलेको अवस्थामा देखिन्छ ।

घटनास्थलको भिडियोको केही अंश माकिइब्का क्षेत्रमा गरेको सैनिक कारबाहीबारे युक्रेनी रक्षा मन्त्रालयले अनलाइनमा राखेको भिडियोमा पनि देख्न सकिन्छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले मोर्टार हमला भएको दाबी गरेका छन् ।

तर यसलाई रुस समर्थक सञ्चारमाध्यमहरूले चुनौती दिएका छन् । उनीहरूको भनाइमा युक्रेनको ८०औँ हवाई कारबाही सम्बन्धी सैनिक ब्रिग्रेडका सदस्यहरूले ती सैनिकहरूलाई गोली हानेर मारेका हुन् । नोभेम्बर १७ मा थप भिडियो फुटेजहरू प्रकाशमा आएका थिए जुन घटनास्थलमा नै उपस्थित कसैले खिचेको देखिन्छ ।

त्यसमा युक्रेनी भाषामा झुप्रोमा लुकिरहेका जो कोहीलाई बाहिर आउन भनिएको सुनिन्छ । उनीहरू एक–एक गर्दै बाहिर आउँछन् र जमिनमा घोप्टो पर्छन् । बन्धक बनाउनेहरूले भिडियोमा युक्रेनी भाषामा बोलिरहेको सुन्न सकिन्छ भने कब्जामा परेका व्यक्तिहरूको पोसाक युक्रेनी नभई रुसी जस्तो देख्न सकिन्छ ।

रुसको रक्षा मन्त्रालय र सञ्चारमाध्यमहरूले ती बन्दीहरू रुसी भएको बताएका छन् । उक्त भिडियोमा त्यसपछि एउटा पुरुष धमिलो रङ्गको पोसाक लगाएर भित्र पसेको देख्न सकिन्छ । हतियार बोकेको ती पुरुषले अघि बढ्दै जाँदा गोली चलाउँदै हिँडेको जस्तो देखिन्छ ।

ड्रोनबाट लिइएको एरिअल फुटेज र स्थलगत रूपमा खिचिएको भिडियोले एउटै घटना पुष्टि गर्छन् । प्रवेशद्वारमा एउटा पोल ढलेको जस्तो देखिन्छ र बारी नजिकै एउटा रातो खेलौना कार देख्न सकिन्छ ।

रुसको रक्षा मन्त्रालयले उक्त घटनालाई १० वा सो भन्दा बढी रुसी सैनिकमाथि टाउकोमा ताकेर गरिएको ‘नियोजित र योजनाबद्ध’ हत्या भनेको छ । उसले त्यो युक्रेनी फौजहरूले गरेको पहिलो र एक मात्रै युद्ध अपराध नभएको पनि बताएको छ।

प्रकाशित: ३ मंसिर २०७९, शनिबार ०५:३८

Leave a Reply