No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इन्डोनेशियामा विवाहअघि यौन सम्बन्धमा राख्न नपाइने कानुन बनाइँदै

0

विवाहपूर्व यौन सम्बन्ध राख्नेलाई एक वर्षसम्म जेल सजाय हुने व्यवस्था राख्दै इन्डोनेशियाको संसद्ले नयाँ फौजदारी कानुन पारित गर्ने तयारी गरेको छ । कानुनको मस्यौदा तयारीमा सहभागी राजनीतिज्ञ बामबाङ वयुरान्तोले अर्को हप्तासम्ममै नयाँ कानुन पारित भइसक्ने बताए ।

प्रस्तावित कानुन पारित भए यस्तो प्रावधान इन्डोनेशियाली नागरिक मात्र नभएर त्यहाँ बस्ने विदेशीहरूका हकमा पनि लागु हुन्छ । तर व्यभिचारमा कारबाही हुनका लागि यसको पक्षले प्रशासनमा उजुरी गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विवाहित व्यक्तिको हकमा पीडित पक्षको श्रीमान् वा श्रीमतीले उजुरी दिन सक्छन् । यस्तो कानुनले विवाह नगरेका व्यक्तिहरूले यौन सम्बन्ध राखेको उजुरी उनीहरूका आमाबुवाले दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

प्रस्तावित कानुनले विवाहअघि हुने सहवासमा प्रतिबन्ध लगाउँदै यस्तो कसुरमा छ महिनाको जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

व्यवसायिक घरानाहरूले यस्तो कानुनका कारण देशको बिदा मनाउन र वैदेशिक लगानीका लागि राम्रो गन्तव्यका रूपमा रहेको देशको छविमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको रोयटर्सले जनाएको छ ।

यस्तै कानुनको मस्यौदा पारित गर्ने प्रयास भएपछि त्यसको विरोधमा सन् २०१९ मा दशौँ हजार मानिसहरूले प्रदर्शन गरेका थिए । राजधानी जकार्तामा विद्यार्थी सहित प्रदर्शनमा उत्रिएका कैयौँको सुरक्षाकर्मीसँग झडप समेत भएको थियो ।

बहुसङ्ख्यक मुसलमान रहेको इन्डोनेशियाका धेरै क्षेत्रमा यौन र अन्य सम्बन्धबारे कठोर कानुनी व्यवस्था छैन।

प्रकाशित: १७ मंसिर २०७९, शनिबार १०:०२

Leave a Reply