No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वैकल्पिक राजनीति : नयाँ विचार र कार्यदिशा

0

ठाकुर पोखरेल ।

वैकल्पिक राजनीति भनेको फरक संस्कार अनि पृथक् धारको राजनीति हो। वैकल्पिक राजनीति-वैकल्पिक पार्टी पनि हुन सक्छ। वैकल्पिक नेतृत्व पनि हुन सक्छ र वैकल्पिक शैलीबाट पनि राष्ट्रिय राजनीतिमा उदाउँन सक्छ। यो सबैको संगमबाट पनि वैकल्पिक राजनीतिको उदय हुन सक्छ।
वैकल्पिक राजनीति र अग्रगामी कार्यदिशा -:
सैद्धान्तिक वाद र विचारको जग नभइकन ‘विधिको शासन’ लाई केले परिभाषित गर्छ? विधिको शासन उभिने धरातल कुन हो? ”
व्यक्ति र समाज दुवैलाई नबुझेसम्म न त व्यक्तिको जीवनलाई बुझ्न सकिन्छ, न त समाजको इतिहास नै । व्यक्तिका हरेक इच्छा र चाहना नितान्त व्यक्तिगत हुँदाहुँदै पनि यी सबै सामाजिक तथा सांस्कृतिक रूपले निर्माण र पुनः र्निर्माण भइरहेका हुन्छन् । समाज जहिले पनि गतिशील हुन रुचाउने हुदाँ विकास निर्माणका पछिल्ला प्रमाणित गतिविधि अर्थात् बिज्ञान-प्रबिधिले विकास गरेको नयाँ प्रमाणित विषय वस्तु तिरको आकर्षण तथा उपभोग गर्ने मनोभावना नै समाजको आधुनिकीकरण वा समुन्नत समाज तिर को रुपान्तरण हो। यही वास्तविकता लाई नै समुन्नत समाजवाद उन्मुख राजनीति भन्दामा कुनै फरक पर्दैन।

गतिशील समाजले पृथक् राजनीतिको माग सधैं गरिरहेकै हुन्छ। विकल्पहीन राजनीतिले अतिवाद अनि अधिनायकवाद जन्माउँछ। विडम्बना हाम्रो देशमा वि सं २०४६ पछि च्याउ जसरी देखापरेका दर्जनौं पार्टीहरुका र तीनका व्यावहारिक कार्यसमीक्षा गर्दा, सत्ता संचालनको प्रवृत्ति देख्दा लाग्छ- सत्ता प्राप्तिको लागि खेलिने फोहोरी खेल नै राजनीति हो! चुनावमा जनताका सामु झुटा आश्वासन वाड्ने, देखावटी रूपमा प्रचलित राजनीतिक विचार, सिद्धान्त,आदर्श (वाद) वारे क्षणिक बहस जनपक्षीय चुनावी रणनीतिक घोषणा पत्र जारी गर्दै चुनाव जित्ने सत्तामा पुग्ने,सत्तामा पदार्पण गरेपछि अनि तिनै जनता बिरुद्ध सार्वभौम अधिकार समेतलाई कुल्चदै राष्ट्रिय धन, सम्पत्ति र साधन स्रोतको दुरुपयोग गर्ने, लोकतान्त्रिक गणतन्त्रको विधि पद्धति लाई वेवास्ता गर्दै आफ्नै व्यक्तिगत स्वार्थ पूरा गर्न नातावाद कृपावाद फरिया वादको प्रचलन नै बसालेका पुराना दलहरुको रवैयाले राजनीति लाई फोहोर बनाउदै आएकोले लोकतान्त्रिक गणतन्त्र संस्थागत विकास नहुदै व्यवस्था मै आशंका हुन थाल्यो।

लोकतन्त्रको सुन्दर विकल्प लोकतन्त्र नै हो पुराना दलका भ्रष्ट दलाल नेताहरु लाई संरक्षण गरिँदाको परिणाम देशमा भरपर्दो उपलब्धि नभएको हो व्यवस्था ठिक छ भन्ने कुरा सर्वसाधारण नागरिकहरुलाई बुझाउन नसक्दा राजनीति लाई गलत कुकर्म बाट बुझ्न पुगियो। राजनीति त त्यो हो जसले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको सम्मान र संरक्षण गर्दै गतिशील समाजका व्यक्ति हरुको ईच्छा आकांक्षा अनुसार विकास निर्माणका कामहरु पूरा गर्ने/गराउने, शिक्षा,स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका सार्वभौमिक अधिकार सबैका लागि सुनिश्चित गर्ने गराउने,रोजगारीका अवसर श्रृजना गर्ने र कार्यान्वयन गर्ने/ गराउने। राज्यको साधन स्रोतको उचित व्यवस्थापन गर्ने गराउने माध्यम सुपाच्य राजनीति हो, राजनीतिको सकरात्मक, स्पष्ट मार्ग हो। ”वैकल्पिक राजनीति भनेको फरक संस्कार अनि पृथक् धारको राजनीति हो। वैकल्पिक राजनीति-वैकल्पिक पार्टी पनि हुन सक्छ। वैकल्पिक नेतृत्व पनि हुन सक्छ र वैकल्पिक शैलीबाट पनि राष्ट्रिय राजनीतिमा उदाउँन सक्छ। यो सबैको संगम स्थल पनि हुन सक्छ।”
वैकल्पिक राजनीतिमा अग्र पथको यात्रा हो-:
नेपालको राजनीतिमा पनि वैकल्पिक राजनीतिले सधैं मूलधारको राजनीतिलाई चुनौती दिँदै आएको छ। १९९३ सालमा नेपाल प्रजापरिषद् राणाशासनको विकल्पमा आयो। २००३ सालपछि फेरि नेपाल प्रजापरिषद्कै विकल्पमा नेपाली कांग्रेस जन्मियो। फरक उद्देश्यसहित फेरि नेपाली कांग्रेसलाई नै चुनौती दिँदै विकल्पका रूपमा कम्युनिस्ट पार्टी आए। २०४८ सालको आमनिर्वाचनमा एमालेले कांग्रेसको विकल्पका रूपमा आफूलाई उभ्यायो। २०५२ मा कांग्रेस एमालेकै विकल्पमा माओवादी जन्मियो। नेपालको राजनीतिक व्यावस्था परिवर्तनको इतिहासमा हेर्दा हरेक १०/१५ वर्षको अन्तरालमा ठूलाठूला आन्दोलन पस्चात व्यवस्था परिवर्तन हुदै आएकोमा जनआन्दोलन(२०६२/०६३) दुईले २३८ वर्ष देखिको शाहवंशीय राजसंस्थालाई लाई पराजित गरी ‘लोकतान्त्रिक गणतन्त्र’ मा परिणत गर्न सफल हुनु भनेकै वैकल्पिक राजनीतिक यात्रा हो।
शास्त्रीय दलका नेता जस्तै ‘वैकल्पिक नेता’ पनि सतही र गफाडी देखिए। भुइँ तहमा गएर जनताको एजेण्डा खोतल्नेतर्फ कसैको दृष्टि गएन । जनताका समस्या अलपत्र परिरहे, ‘वैकल्पिक नेता’ भ्रष्ट नेतासँग मीत लगाउँदैमा व्यस्त रहे ।

वि सं २०४६ को राजनीतिक परिवर्तन पछि उदार पटक पटक राज्य सत्ताको संचालक बनेका दलका आधा दर्जन शीर्ष नेताबाट नै अहिले पनि देश चलेको, ३२ वर्ष सम्म सत्ताको साँचो तिनै ७० वसन्त कटेका बा वृद्धहरुको खल्तीमा रहेको, साँचो चाबी नयाँ पुस्तालाई हस्तान्तरण गर्न नचाहने कारण दोस्रो र तेस्रो पंतिका नेताहरु समेतआफुलाई ६० वर्षका युवा भन्न रुचाउनुले नेपालको राष्ट्रिय राजनीति विश्व व्यापी बदनाम हुदै आएको, पुरातनो र यथास्थिति पन मान्नेहरू बाट नयाँ राजनीतिक एजेण्डामा प्रवेश गर्न सकेको छैन। यो तितो यथार्थ लाई खुल्लमखुल्ला चुनौती दिदै स्थानीय निर्वाचन २०७९ देखि स्वतन्त्र हैसियतमा दर्जनौं युवाहरु चुनावी मैदानमा उत्रिए केहीले जित हासिल गरेर पुराना दलहरुले ३२ वर्षमा गर्न नसकेका सार्वजनिक हितको पक्षमा काम गरिरहेका छन्। पुराना दलहरुलाई चुनौती सहितको यो वैकल्पिक राजनीतिमा युवा हरुको सक्रियता लाई महत्वपूर्ण रुपमा हेरिदै आएको छ।

नयाँ पार्टी दर्ता गरेको ४ महिना भित्रै नयाँ शक्तिका रूपमा उदाएको ”राष्ट्रिय स्वतन्त्र पार्टी” ले आमनिर्वाचन २०७९ मा पुराना दलहरुलाई दर्जनौं स्थानमा पराजित गर्दै राष्ट्रिय स्तर मै चौथो नयाँ विराशत रचेको छ हालको अवस्थामा यो वैकल्पिक राजनीतिको उदय हो। केही वर्षयता वैकल्पिक पार्टीका केही महत्वपूर्ण उपलब्धि छन्, जुन अहिल्यै ठोस उपलब्धि नदेखिन सक्छन्, तर दीर्घकालीन रूपमा यी उपलब्धि सुसंस्कृति राजनीतिको आधार बन्नेछन्। हक अधिकार सुनिश्चित गर्ने उद्देश्यले पछिल्लो राजनीतिक आन्दोलनबाट उदाएका क्षेत्रिय दलहरु मधेसवादी दल जबर्जस्त विकल्प बन्दै क्षेत्रीय वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएका थिए तर मधेसी समाजले आमनिर्वाचन २०७९ पुराना दल माथि आम्सिक अबिश्वास गर्दै फेरि वैकल्पिक राजनीतिक दलका रुपमा अर्को नयाँ दललाई भारी मतले अस्तित्वमा उभ्याउनुले समाज सधैं वैकल्पिक राजनीतिको खोजीमा लागेका हुन्छन् भन्ने प्रमाणित तथ्य उजागर भएको छ।

राजनीतिमा धेरै हदसम्म वैकल्पिक राजनीतिलाई आम नागरिक स्तरमा स्वीकार गरिएको कुराको उदाहरण हो स्वतन्त्र हैसियतमा उमेद्वारी दिनेहरुको मतपरिणाम। हालको समयमा वैकल्पिक राजनीतिको नेतृत्व विवेकशील साझा पार्टी गर्दै आएको छ। बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्तिले आफूलाई वैकल्पिक शक्ति साबित गर्न सकेको छैन। नयाँ शक्तिमा माओवादीबाट छुट्टिएर आएको एउटा ठूलो हिस्साले गर्दा पनि त्यो वैकल्पिकपन को स्पष्ट ‘टेस्ट’ दिलाउन सकेन। राष्ट्रिय राजनीतिमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा सुपरिचित नेता हुन् डा बाबुराम भट्टराई उनी अर्थ मन्त्री हुदाँ र अप्ठ्यारो परिस्थितिमा प्रधानमन्त्री हुँदा देश, राष्ट्र राष्ट्रियता र जनहितको पक्षमा राम्रो काम गरेका समसामयिक राजनीतिक नेतृत्वहरु मध्ये निस्कलंक र विकास वादी नेता हुन् भन्ने कुरामा कुनै दुविधा छैन तर पनि पुरानै नीति, पुरानै नेतृत्व अनि जनयुद्ध कालिन नकारात्मक पाटो सँग जोडिएको कारण उनले स्थापना गरेको नयाँ शक्ति पार्टी फगत नामकै मात्र नयाँ देखियो केवल डा भट्टराई लाई मात्र राम्रो देख्दैमा वैकल्पिक राजनीतिक शक्ति नहुने रहेछ, नागरिक हरुले पत्याएनन्। इतिहासकै चरम राजनीतिक धु्र्वीकरण भएको बेलामा पनि विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्नबाट थोरै मतले मात्र चुक्दै दुई लाख १२ हजार मत ल्याएर छैटौं ठूलो दल बन्यो। प्रदेश ३ मा त चौथो दलका रूपमा प्रदेशसभा मै पुग्यो। ७० वर्ष पुराना पार्टीहरूसँग प्रतिस्पर्धा गरेर यति छोटो समयमा आएको यो उपलब्धिलाई कम आँक्न नमिल्ला तर साझा पार्टी स्थापना गरेका रविद्र मिश्रको भित्रि डिएनए पुरातनवादी कित्ता तिर भएको रहस्य सबैको सामु छर्लङ्ग भयो। यसैसँग जोडेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का संस्थापक अध्यक्षको भविष्यबाणी के होला भन्ने अनुमान काटिरहेका छन् तर हालको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको हालको अवस्थामा वैकल्पिक राजनीतिक शक्ति हो । मात्र सैद्धान्तिक वाद र विचारको जग नभइकन ‘विधिको शासन’ लाई केले परिभाषित गर्छ? विधिको शासनमा उभिने धरातल कुन हो?” भन्ने कुरा भविष्यले निर्धारण गर्ला!

अतः राष्ट्रिय राजनीतिमा अत्यन्त फोहोर व्यवस्थापन भयो, पुरातनवादी र यथास्थितिवादी फेलियर शक्तिहरुले देश, राष्ट्र,राष्ट्रियता र सार्वभौमिकता लाई सर्वोपरि मानेर काम गर्न नसक्ने रहेछन् भन्ने कुरा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना २०४६ बाट ३३ वर्ष सम्मको अनुभूतिबाट स्पष्ट हुन्छ कि अब पुरातनवादी र यथास्थितिवादी सोचमा रमाउँने दलका नेताहरुबाट सुशासन समृद्धि हासिल हुने सम्भावना देखिदैन। त्यसैले एकाइसौं शताब्दीको जनचेतना सम्बोधन हुने नयाँ विचार र कार्यदिशा सहित अग्रगामी राजनीतिक मार्ग खोजौ! वैकल्पिक राजनीति लाई पुनर्गठन गरेर देश,राष्ट्र र राष्ट्रियताको सर्वोपरि हित हुने अग्रगामी राजनीतिक शक्ति निर्माण गरौ। सबैको जय होस्

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार १२:२०

Leave a Reply