No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै

0

बाँके । समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ । शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन् । भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन ।

भेरी अस्पतालमा अहिले ३६ बिरामीले नियमितरुपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा पारस श्रेष्ठले जानकारी दिए । उनका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन् । उनीहरुले पालो पाएका छैनन् ।

भेरीमा चार वटा डायलासिस मेसिन छन् । तीमध्ये एउटा आपतकालीन अवस्थामा र अरु तीन वटा नियमितरुपमा बिरामीका लागि प्रयोग गरिँदै आएको छ । गत भदौदेखि शिक्षण अस्पताल कोहलपुरभित्र ठेकेदार कम्पनीले चलाएको डायलासिस मेसिन बिग्रिएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको श्रेष्ठले बताए । अहिले शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा ठप्प छ ।

कोहलपुरमा मेसिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउँदा चाप बढेको डा श्रेष्ठको भनाइ छ । कोहलपुरमा डायलासिस सेवा नभएपछि अप्ठेरो अवस्थामा पुगेकाहरु निजी तथा भेरीको आपत्कालीन कक्षमा आएर सेवा लिन थालेका छन् । नियमित डायलासिस सेवा लिनेहरु भेरीमा लाइनमा बस्ने गरेका छन् । भेरीको तीनवटा मेसिनले पहिलेदेखि नै पालोअनुसार सेवा दिइरहेको छ ।

भदौदेखि यता नयाँ बिरामीको पालो आएको छैन । भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले मिर्गाैलाका बिरामीको अवस्थालाई मध्यनजर गरेर पाँचवटा डायलासिस मेसिन थप गर्ने तयारी भएको बताए । आठवटा मेसिन सञ्चालन भएपछि पाँचवटा मेसिनबाट सामान्य, दुईवटाबाट सङ्क्रमित र एउटा मेसिनबाट आपतकालीन बिरामीलाई सेवा दिने योजना रहेको उहाँको भनाइ छ ।

 

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार ०५:१४

Leave a Reply