‘राजा रानी’ युट्युब ट्रेन्डिङमा

२३ मंसिर २०७९, शुक्रबार ०६:२६

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिष्मा केसी अभिनित म्युजिक भिडियो ‘राजा रानी’ युट्युब ट्रेन्डिङमा छ । युट्युबमा रिलिज भएको चार दिनमा नै गीतले १० लाख बढि दर्शकको साथ पाएको छ, भने टिकटकमा पनि गीतलाई उत्तकै रुचाइएको छ ।

सलोनको रिसेप्सनमा सार्वजनिक गरिएको आमेशद्वारा स्वरबद्ध ‘राजा रानी’ बोलको गीतलाई गत आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच युट्युब रिलिज गरियो । सलोनलाई राजा र करिश्मालाई रानीको रुपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडियोमा उनीहरुको विवाहलाई उतारिएको छ ।

बेहुला बेहुलीको पहिरनमा सिंगारिएकोदेखि करिश्मा सलोनको घरमा भित्रिँदासम्मको दृश्य भिडियोमा देखिन्छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा आमेशलाई गायिका सुनिता थेगिमले गायनमा सघाएकी छन् भने आमेशकै शब्द रचना तथा संगीत छ । भिडियोमा निर्देशक र निर्मातामा सलोनको नाम छ ।

आमेशले ‘राजा रानी’ गीत सलोन र करिश्माका लागि आफ्नो मनबाट निस्किएको बताए । सलोन बस्नेत र आमेश भण्डारी मित्रताका उदाहरण हुन् भन्दा फरक पर्दैन् । सिनेमा ‘मेला’मा एकसाथ काम गरेपछि उनीहरुबीच मित्रता गाँसिएको थियो । त्यसयता उनीहरुले एकअर्कालाई साथ दिइरहेका छन् ।

अभिनयका अलवा गायनका पनि सौखिन यी दुईले एकसाथ केही गीत गाएका छन् भने चाँडै एक सिनेमामा पनि काम गर्ने तयारीमा छन् । दुवैको एकअर्काको परिवारसँग पनि राम्रो सम्बन्ध छ ।

उनीहरु बीच कति बलियो मित्रता छ भन्ने कुरा आमेशले सलोन र करिश्मालाई विवाहको उपहार स्वरुप गीत तयार गरेर रिसेप्सन पार्टीमा सार्वजनिक गर्नुले पनि देखाउँछ । सार्वजनिक गीतले आमेषलाई अभिनेतासँगै गायकको रुपमा पनि चिनाउन सफल भएको छ । हाल सार्वजनिक गीत युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ ।

यस्तै केही दिनमा सलोनको विवाहको भिडयो समेत केही दिनमा ओएसआर डिजिटल मार्फत ३ पार्टमा सार्वजनिक हुने निर्देशक शोभित बस्नेतले बताए ।