No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भ्रष्टाचारी भन्ने र पाएको दिन मिलेर खाने हाम्रो मुद्दा हो, प्रेमप्रसादहरुको किन पर्नु ?

0

नारायण गाउँले ।

नेता, सरकार, सिस्टम परको कुरो भयो, तर सत्य के हो भने यदि उनले आत्मदाह नगरेको भए उनको त्यति लामो स्टाटस मैले पनि शायदै पढ्ने थिएँ । आत्मदाह पक्कै समाधान होइन, तर समाधान के हो त भन्न सक्ने अवस्थामा पनि म छैन ।

उनी लड्नुपर्थ्यो भन्ने त म पनि भन्छु, तर कहाँ कोसित कसरी लड्ने भन्ने ठोस जवाफ मसित पनि छैन । उनको स्टाटस एकभन्दा बढ़ी पटक पढेँ । आफन्तसित लड्ने कि नागरिकको हकÞहित र जीवनको सुरक्षाका लागि बनाइएको पुलिससँग लड्ने कि ? हरेक अफिसमा पासो थापेर बसेको कर्मचारीतन्त्रसँग लड्ने कि, अनुदानका नाममा सरकारी सुविधा आफै उछिट्याउने जनप्रतिनिधिसँग लड्ने ? सिस्टमसँग लड्ने कि ब्याङ्कसँग लड्ने ? भाटभटेनीसँग लड्ने कि सरकारसँग लड्ने ? हरेक कदममा, हरेक मोड़मा, हरेक सासमा बाधा छ, लूट छ, शोषण छ, अव्यवस्था छ, नातावाद छ, विसङ्गति छ । कतितिर लडि़सक्ने ?

आफ्नै मनलाई सान्त्वना दिन उनमा मानसिक असन्तुलन पो थियो कि भन्ने सोच्छु, तर उनका हरेक शब्द र्याशनल छन्, धेरैलाई आफैले भोगेजस्तो लाग्ने छन् । धेरैले कदमकदममा अनुभव गरिरहेका सत्य जस्ता भोगाइ छन् । सङ्घर्ष नगरिकनै छिटै हार माने कि भन्न पनि मन तयार हुँदैन । उनका अनुभव र सुझावहरू पढ्दा र उनले खाएका धक्काहरू गन्दा मन आत्तिन्छ ।

लेख्न बाँकी केही छैन । समस्या पनि उनैले लेखेका छन्, पीड़कहरू पनि उनैले चिनाएका छन् । समाधान पनि उनैले सुझाएका छन् । सुन्नेहरूको कमी छ जस्तो पनि लाग्दैन । तर एक हप्तापछि हाम्रा प्राथमिकता र मुद्दाहरू फेरिनेछन् । हाम्रो राष्ट्रिय समस्या नागरिकता हो, राष्ट्रपतिको निर्वाचन हो, प्रदेश हो, ढोक्सा हो । एकले अर्कालाई राष्ट्रघाती भन्ने, भ्रष्टाचारी भन्ने र पाएको दिन मिलेर खाने हाम्रो मुद्दा हो । कुन दलले कुन दललाई कसरी थाङ्नामा सुताउन सक्यो भन्ने हाम्रो राष्ट्रिय सफलता हो ! त्यो हिजो पनि थियो र भोलि पनि हुनेछ ! संसद एक महिनादेखि भाषण स्थल बनेको देख्नुभएकै छ ।

भोलि सत्ता र प्रतिपक्षबाट प्रेमप्रसादको नाम लिएर फेरि तीन–चार थान भाषण हुनेछन् । जसले अलि भावुक बोल्नेछ, हामीले वाह वाह भन्दै क्लिप शेयर गर्नेछौं । प्रसङ्गवश, कता कता मनमा लागेको चाहिँ, हामीभित्र घरपरिवारमा, छरछिमेक र साथीभाइमा मानसिक स्वास्थ्यबारे पनि छलफल, काउन्सिलिङ्ग र संवेदनशीलता हुने हो भने केही ज्यानहरू बचाउन सकिन्थ्यो कि भन्ने हो । अन्य देशमा जस्तै हाम्रा प्रहरीदेखि स्कुल कलेजमा आगो नियन्त्रणबारे नियमित रूपमा सघन तालिम दिने व्यवस्था हुन्थ्यो भने केही जीवन बच्ने थियो कि भन्ने हो । ठ्याक्क भन्न त म शब्दहीन छु ! भावपूर्ण श्रद्धाञ्जलि !

 

प्रकाशित: ११ माघ २०७९, बुधबार १६:१२

Leave a Reply