No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजासहितको प्रजातन्त्र स्थापना गर्न हामी आएका हौंः धवलशम्सेर जबरा

0

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरुबीच आरोप प्रत्यारोप चलेको छ ।

राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले धर्मनिरपेक्षता र संघीताकाविरुद्धमा बालेको भन्दै अन्य दलका सांसदले बुधबारको प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएपछि राप्रपाका सांसदहरुले नियमापत्ति गरेका हुन् ।

बैठकमा एमाले सांसद रघुजी पन्त, जसपाका सांसद राजकिशोर यादवले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि राप्रपाका सांसदहरुले नियमापत्ति गरेका हुन् ।

बैठकमा एमाले सांसद पन्तले भने, ’सरकारमा सहभागी मन्त्रीहरूनै संविधानको मान्यता विपरीत धर्म निरपेक्षतालाई मान्दिन, संघीयतालाई मान्दिन भन्दै बोलिरहनुभएको छ। संविधान अनुसार शपथ ग्रहण गर्नुभएका मन्त्री ज्यूहरूले संविधान विपरीत बोल्नै मिल्दैन।’

त्यस्तै जसपाका सांसद यादवले मन्त्रीले संविधानको बर्खीलाप गरेर बोल्नु राजनीतिक बेइमानी भएको बताएका छन् । यादवले भने,‘यो राजनीतिक बेइमानी हो । त्यसैले प्रधानमन्त्रीलाई मन्त्रीले स्पष्टीकरण सोध्ने भन्नुभएको थियो । जवाफ खोइ ? मन्त्रीको पदको दुरुपयोग गर्दै संघीयता र संविधानविरुद्ध बोल्नु हुँदैनथ्यो ।’

यादवले सदनलाई मुर्दाको रुपमा चित्रित गरे । यादवले भने,‘मलाई लाग्थ्यो,आज यो सदनभित्र विशेष प्रस्ताव आउँला,के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए,त्यसको बारेमा चर्चा होला । तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ । प्रेम आचार्यको बारेमा कसैको चिन्ता भएन ।’

त्यसपछि राप्रपाका सांसदहरुले आपत्ति जनाए । बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नियमापत्ति गरे । उनले सीता नेपालकी छोरी, विश्वको प्रशिद्ध ग्रन्थ बेद नेपालको भन्दै कोही नास्तिक नहुने दावी गर्दै संविधान संशोधनीय भएको बताए ।

उनले धर्म निरपेक्षताको विषयमा भएको बहसलाई किन सार्वजनिक गरिएन भन्दै प्रश्न गरे । शाहीले नियमापत्ति जनाएपछि बोल्न खोजेका सांसद शक्ति बस्नेत र नेकपा एमालेका सांसद रघुजी पन्तलाई सभामुखले रोकेका थिए।

त्यसैगरी राप्रपाका अर्का सांसद धवलशमशेर जवराले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई होच्याउने काम नगर्न आग्रह गरे । जवराले राप्रपालाई प्रहार नगर्न अन्य राजनीतिक दलका सांसद्लाई आग्रह गरे ।

जवराले भने, ‘राप्रपा माथि प्रहार भयो। राप्रपा सानो होला तर, हामी नेपाली जनताको मनमा भिजेका छौं। सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौं।’ जवराले राजासहितको प्रजातन्त्र स्थापना गर्न आफूहरु आएको बताए।

 

 

प्रकाशित: १८ माघ २०७९, बुधबार १०:०३

Leave a Reply