No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतीय दूतावासमा मनाइयो स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

0

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा शनिबार एक कार्यक्रमको आयोजना गरी २१औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । कार्यक्रममा गत वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका विद्यार्थीलगायत दुई सय ५० भन्दा बढीको उपस्थिति थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आगामी वर्षदेखि स्वर्ण जयन्ती छात्रवृत्ति पाउने जेहेन्दार विद्यार्थीलाई विभिन्न विधामा भारतीय दूतावासको विशेष ‘रोल अफ अनर’ प्रदान गर्ने घोषणा गरे । मन्तव्यका क्रममा राजदूत श्रीवास्तवले २१औँ ब्याचका छात्रवृत्ति विजेता विद्यार्थीलाई बधाई दिएका थिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयका उपकूलपति प्रा डा शिलु मानन्धर बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा तिलकराम आचार्य, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी उपस्थित थिए ।

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा यो स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । यो योजनाको सुरुवातमा ५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्ति सङ्ख्या थपेर एक सय पुर्याइएको थियो ।

यस प्रतिष्ठित योजनाबाट हालसम्म नेपालका ७७ जिल्लाका तीन हजार विद्यार्थी लाभान्वित भइसकेका छन् । स्वर्ण जयन्ती छात्रवृत्ति पाएका कूल विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् । यस पटक स्वर्ण जयन्ती छात्रवृत्ति पाएका ७३ जिल्लाका दुई सय विद्यार्थीमध्ये ४४ प्रतिशत छात्रा रहेको दूतावासले जनाएको छ । स्वर्ण जयन्ती छात्रवृत्ति योजनाअन्तर्गत यो वर्ष आठ जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको छ ।

नेपाल र भारतका विश्वविद्यालयमा स्नातक तह मुनिका र स्नातक तहमा औषधि विज्ञान, इञ्जिनियरिङ, दन्त विज्ञान, कला, कमर्स, विज्ञान, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फर्मिङ आर्टसलगायत अन्य सङ्कायका विषय अध्ययनका लागि भारत सरकारले झण्डै एक हजार छ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ । सन् २००६ यता हालसम्म २७ हजार नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् ।

निकट एवं मैत्री छिमेक सम्बन्ध रहेको भारत र नेपालबीच शिक्षाको क्षेत्रमा लामो समयदेखि साझेदारी रही आएको छ । यस किसिमको छात्रवृत्ति तथा क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संशाधन विकास तथा यस क्षेत्रको समग्र सामाजिक एवं आर्थिक विकासमा भारतले गरेको प्रयासमा थप बल प्रदान गरेको बताइएको छ ।

प्रकाशित: ४ चैत्र २०७९, शनिबार १६:३६

Leave a Reply