No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पद नपाएको झोँकमा ती सबैले पार्टी छोड्ने बाटो लिए भने अवस्था के होला ?

0

शंकर तिवारी ।

१. ठाउँ निरन्तर पाएकै हो । अस्तिसम्म विदेशी संघ संस्थामा काम गर्ने व्यक्तिले नेतृत्वको सद्भाव बिना पार्टीले दिने अवसर एकपछि अर्को गरी पाउन सम्भव थिएन । अस्तिसम्म घोषणापत्र लेखन समिति देखि विज्ञ प्रशिक्षकको रूपमा समेत सक्रिय थिए । फोटो राखिरहेथे । टिकट वा अरू कुनै सौदाबाजीमा पार्टी फेर्ने, सिद्धान्त फेर्ने या बाटो मोड्ने छुलाहा व्यहोराले साठी वर्षदेखिको पार्टीसँगको संलग्नताको पर्याप्त भाडा उठाइसकेका छ । छयालीस यताको ब्याज असुलउपर गरिसकेको छ । अहिले भावनाको व्यापार गर्न जरुरी छैन । जीवन पर्यन्त देश र पार्टीको सेवा गरेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जत्तिको देश बनाउने महत्त्वपूर्ण ठाउँमा नियुक्ति पाउने भाग्यमानी विज्ञ हरेक पार्टीभित्र कतिजना होलान् ? पद नपाएको झोँकमा ती सबैले पार्टी छोड्ने बच्कना बाटो लिए भने अवस्था के होला ? छोटो समय त हो भन्नेहरूले हेक्का राख्न जरुरी छ, प्रधानमन्त्री ९ महिनाको योजना आयोगको उपाध्यक्ष १८ महिनाको हुँदैन नि ! प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने समितिमा उपाध्यक्षको पदावधि अपेक्षा कति गर्ने हो ?

२. अर्थशास्त्र जस्तो value based intellectual को विहङ्गम र विस्तारित क्षेत्र बोकेको विषयको विज्ञ भएता पनि तिनी आफू value based intellectual हुन् कि केवल सिद्धान्त रट्टु प्राविधिक ; महत्त्वपूर्ण प्रश्न यो हो । तिनी सत्तालाई प्रश्न गर्ने, सत्तासँग संघर्ष गर्ने, भूईँ र माटो छामेर निर्णय लिनसक्ने, जनताको आवाज बोक्ने बौद्धिक थिए कि त्यही कुलीन गिरोहधारी सत्ताले दिने नियुक्ति खाने जागिरे बौद्धिक थिए ? आफूलाई भाग परे ठीक नपरे गलत हुन्छ ? पार्टी, संगठन र नेतृत्वले दिएको अवसर लिएर आफ्नो कुस्त व्यक्तित्व र कुस्त सञ्जाल निर्माण गरी अहिले मनपरि बोल्नु कतिसम्म जायज हो ?

३. जिब्रो बटारेर अंग्रेजी बोल्ने, विदेशी स्कुलतिर पढेको, एनजीओ आइएनजीओमा काम गर्ने, जेल लगाएको कपाल र चस्मा लगाएको हेर्दा आकर्षक सेलिब्रेटी मार्काको मान्छे भनेपछि भुतुक्कै मरिहाल्ने, हर ठाउँमा सेलिब्रेटी र भगवान, मुक्तिदाताको खोजी गर्ने अर्धअन्धविश्वासी पिछडिएको नेपाली समाज र पार्टी भित्रकै अतिशय महत्वाकांक्षी भाषणबाजहरूले अत्यधिक हाइप दिएको पात्र हेर्नुस् त कतिसम्म भल्नेरेबल रैछ ? विचारप्रति कतिसम्म प्रतिवद्ध रैछ ?

४. अस्तिसम्म कसलाई पो अर्थमन्त्री प्रस्ताव गरिएछ भनेर अब एकपटक आफ्नै मूढतालाई मरूञ्जेल घोच्नुहोस् । राजनीतिलाई प्रियतावाद, लोकरञ्जन, भावुक सेलिब्रेटीपन, हाहाहुहु र भाषणबाजी बाट अलग गराउने प्रेरणा लिनुहोस् ।

५. अतिशय भावुक भएर कांग्रेस सक्किएको उद्घोष गर्नुपूर्व एकपटक, गाउँ गाउँमा रगत पसिना बगाएर, सबैखाले अतिवादसँग ज्यानको बाजि लगाएर दुखजिलो गरी शिला चहारेर पार्टी संगठन निर्माण गरेको आफूले कति पाएँ र आफूले निर्माण गरेको सांगठनिक घरको उपल्लो तहमा बसेर तपाईं जसको चिन्ता गर्दै हुनुहुन्छ उसले विदेशी जहाज ओर्लेर नेपाल टेक्ने बित्तिकै के के पाइसक्यो ( आर्थिक, भौतिक, नैतिक, राजनीतिक, व्यक्तित्व निर्माण ) तुलना गर्नुहोस् । कसको लागि चिन्ता गर्नुपर्ने हो, एकपटक आफैंलाई सोध्नुहोस् ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार ०४:५२

Leave a Reply