No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो सब काशी विश्वनाथको दया हो !

0

जेपी गुप्ता ।
हामी गधा भन्छौं काशीमा गदहा भन्छ । त्यहाँ यसको बडो मान छ । जताततै गधालाई माया गर्नेहरू प्रसस्त भेटिन्छन् । आजको काशीका गधा कुनै समय आफ्ना शासक रहेको र नियतिवश श्रापित भएर गधाको रूपमा पुनर्जन्म पाएको मान्यता त्यहाँको जनमानसमा छ । यदि सकिने भए गधालाई श्रापमुक्त गरी पुनः राजाको रूपमा प्रतिष्ठापित गराउने चाहना राख्नेहरू थुप्रै भेटिन्छन् त्यहाँ । मलाई बडो ईच्छा भयो, यसका कारण जान्न। एक जना साहित्यनुरागीसँग मैले सोधेको थिएँ काशीका गधाको कथा।

धेरै पहिले, परापूर्व कालपछि काशी, वाराणसीमा राजा ब्रम्हदत्तका पुत्र ‘कुमार’ राजा भए । खानामा मासु बडो मन पराउने खालका थिए–मांस भक्षक थिए कुमार। कारिन्दा र भान्सेलाई दुबै छाकको भोजनमा सुस्वादु मासुको जोहो गर्दै हैरानी हुन्थ्यो। मासु उपलब्ध नभएको दिन अन्तःपुरका भान्सेले कालसंग बिन्ति गर्नुपर्ने हुन्थ्यो। एकदिन असावधानीवश पकाउन तयार गरिएको मासु दरबारका कुकुरले खाई दियो। भान्से आसन्न संकटको अनुमान गरेर कही खसी बोकाको मासु नपाउँदा कुदेर काशीको शमसान पुगेछन्। पोल्नका लागि भर्खरै ल्याईएको एक युवकको लाश देखियो। भान्सेले तत्काल तेस लाशको तिध्राको मासु काटेर लगे । पकाएर कुमारलाई खुवाएँ। कुमार तीनछक्क ! सधैंको भन्दा स्वादिलो लागेछ। के को मासु हो भन ! कुनै उपाय नलागेर भान्सेले सत्य बताए। तर, राजा रिसाएनन्। र, अब उप्रान्त सधै भान्सामा यही मासु नै पकाउने फर्मान जारी गरें । भान्सेलाई पनि सोही मासुनै खानु पर्ने हुकुम दिए।

भान्सेको समस्या, सधैंभरी अब मानिसको मासु कहाँबाट ल्याउने। राजाले भनेछन् –मेरो जेलमा धेरै पठ्ठो बन्दीहरू छन्। राज्यको खर्चपनि घट्ने, यसर्थ नित्य दिन तिनै बन्दीहरू मध्ये १/१ लाई काट्दै मासुमा उपयोग गर्न भने। तत्पश्चात यही क्रम शुरू भयो। कालान्तरमा युवा र तन्नेरीहरूबाट बन्दीगृह नै रित्तियो।

राजाले उपाय बताए। चौरस्तामा जाउँ, सुन असर्फीको थैली फ्याँक। कुनै लोभी मानिसले अवश्यपनि टिप्ने छन्। चोर चोर हल्ला गरी ती लोभीलाई समातेर ल्याउने अनि उसैको मासु तयार गर्ने हुकुम भएपछि यही क्रम शुरू गरियो। राज्यमा हाहाकार मच्चियो। कसैको छोरा, कसैको नाति, दाजु–भाइ आदि हराउन थाले। बेपत्तेहरूको संख्या दिनानुदिन बढेपछि जनताहरू सेनापति कहाँ गुहार लगाए। चिन्तित सेनापतिले यसको भेऊ पत्तो लगाउने जमर्को लिए। एक दिन, काशीको एउटा गल्लीमा मानिसको मासु काटदै गरेको एकजना भेट्टियो। त्यसलाई सेनापति समक्ष हाजीर गरियो। यतना र केरकाप पछि ती मानिस आफू काशी नरेशको मासुको खान्की पुर्याउन बाध्य भई यो कर्म गर्ने गरेको बताए।

सेनापतिले दरबार बोलाए। राजा कुमारसँग सोधे, अन्ततः कुमारले आफू मानव मांस भक्षण गर्ने गरेको स्वीकार गरे। सेनापतिले धेरै संझाए–कुमार यो परित्याग गर्नुहस् भने।तर राजाले मानेनन्। निर्णय भयो, कुमारले दरबार परित्याग गर्ने र आफ्ना भान्से सहित जंगल जाने। उनले त्यसै गरे। तर, उनले बानी छोडेनन्। जंगलमा बाटो कुरेर बस्थे, निर्वोध बटुवाहरूलाई समात्थे। अनि मारेर पकाईवरी मासु खान्थे। सर्वत्र हाहाकार मच्चाए ती पदच्युत राजाले। एक दिन मासु नपाएर उनले संगै रहेको भान्सेलाई नै तलबारले काटेर क्षुधा मेटे ।

एक दिन एकजना व्यापारीलाई धन सम्पतिका साथ बयलगाडामा त्यो बाटो नगई नहुने भयो। डरका कारणले व्यापारीले सुरक्षाको इन्तजाम गरे। धेरै धनराशी खर्चेर आफ्नो र सम्पतिको सुरक्षाका लागि ठूलो संख्यामा गाँउले मानिसहरू लिई हिँडे । यसका बावजूद पनि बाटो ढुकेर बसेका काशी कुमारले एक्कासी आक्रमण गरे। तर कुनै मानिसलाई समात्न सकेनन्। सुरक्षामा तैनाथ गरिएका व्यापारीका मानिसहरूबाट राजा घाइते भए र ज्यान जोगाउन जंगलमा अदृश्य भए। यसपछि मात्र काशी नगरी र त्यहाँका जनता मानवभक्षी कुमारबाट मुक्त भए। उता अदृश्य भएको कुमार भगवानका समक्ष प्रायश्चित गर्न तयार भए। प्रभूसंग कुमारले बिन्ति गरे कि बरू जनावरकै रूपमा भए नि काशीमै बस्ने व्यवस्था मिलाई पाउँ ! भनिन्छ, भगवान द्रवित भएर अर्को जन्ममा मासु नखाने जनावर गधाको रूपमा कुमारलाई काशीमा पठाए। जे भएपनि राजाको पुनर्जन्म गधाको रूपमा भएको मानेर अध्यावधि गधाका सम्मुख काशीबासीहरू दयावान रहेको छन्। जसले जे भनेपनि काशीबासीहरू गधालाई बडो सम्मान गर्छन, आजपनि!
भन्छन्–यो सब काशी विश्वनाथको दया हो। हाम्रो दयावान देवाधिदेव पशुपतिका झैं !

प्रकाशित: २३ बैशाख २०८०, शनिबार ०४:०६

Leave a Reply