काठमाडौं । राजधानीमा सोमबारदेखि सुरु भएको ‘काभा वुमन्स च्यालेन्ज कप भलिबल’ प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
पहिलो सेट २५–११ ले जितेको थियो । दोस्रो सेटमा कीर्गिस्तानले नेपाली टोलीमाथि दबाब बढाउने खोजे पनि सहजै पन्छ्याएको थियो । दोस्रो सेटमा नेपालले २५–१९ ले बाजी मारेको थियो ।
तेस्रो सेटमा कुनै पनि प्रतिस्पर्धा भएन । नेपालले सहजै पहिलो सेटकै अंकमा पछि पार्न सफल भयो । जितसँगै समूह एमा नेपालले ३ अंक लिएको छ । आजको खेलमा सरस्वती चौधरीलाई रेस्ट दिइएको थियो भने उषा भण्डारी, कप्तान अरुणा शाहीको प्रदर्शन उत्कृष्ट रह्यो ।