No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

0

झापा । झपाको बिर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटियाका अस्थायी संरचनाहरू  डोजर लगाएर भत्काइएको छ । सो स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए । ती संरचना हटाउन नगरपालिकाले सात वटा डोजर परिचालन गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले पटकपटक सार्वजनिक सूचना गरी हटियाको संरचना खाली गरिदिन आग्रह गर्दा व्यवसायीहरूले अटेर गरेपछि आज डोजर लगाएर हटाइएको बताए ।

हटियाको टहरालगायतका पुराना संरचना हटाएर सो स्थानमा नगरपालिकाले बहुतले बहुउद्देश्यीय व्यापारिक भवन बनाउने योजना अघि सारेको छ । नगर विकास कोषको अनुदान तथा ऋण लगानीमा व्यापारिक भवन बनाउने परियोजना स्वीकृत भइसकेको न्यौपानेले जानकारी दिए ।
सुरुमा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटी र आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको नेतृत्वमा स्थानीय व्यवसायीहरूले डोजर रोक्न प्रयास गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले हटियाका संरचना भत्काउन स्थानीयवासीबाट कुनै अवरोध नभएको र डोजर चल्न थालेपछि आफ्ना सरसामान निकालेर लगेको बताए । विगतमा पटकपटक सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले स्थानीय व्यवसायीलाई ती संरचना खाली गरिदिन छलफल र आह्वान गरेको थियो । तर व्यवसायीहरूले अर्को व्यवस्था नभएसम्म नहट्ने अडान राखेका थिए ।

नगरपालिकाले अघि बढाएको बहुतले बहुउद्देश्यीय व्यापारिक भवन निर्माणमा नगर विकास कोषले ९० प्रतिशत ऋण लगानी गर्ने सहमति जनाइसकेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बताइन् । डोजर चलाइएको स्थान वरपर ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार १४:१८

Leave a Reply