जेठ १९ः राजा वीरेन्द्रको वंश विनासको विश्वसनीय छानविन गर (सम्पादकीय)

१८ जेष्ठ २०८०, बिहीबार १४:०१

सम्पादकीयः
जेठ १५ मा देशले १६ औं गणतन्त्र दिवस मनाएको छ । देशमा राजा वा राजसंस्था छैन्न । देशको व्यवस्था वा संविधानले राजा, राजसंस्थालाई चिन्दैन । त्यसैले जेठ १९ मा राजा वीरेन्द्रको वंश विनासको त्यो ह्दयविदारक कालरात्रीको राजकीय चर्चा हुने छैन ।
तर, नेपालको २४८ वर्षको शाहवंशीय राजसंस्थाको ईतिहासमा स्वर्गवासी राजा वीरेन्द्र आम नागरिकको मन, मष्तिष्कमा राज गरेका, जनताले आशा र भरोशा गरेका सदा स्मरणीय राजा नै हुनुहुन्छ । आधुनिक नेपालको निर्माता मानिएको राजसंस्थाका कैयन उत्तराधिकारी मध्ये स्वर्गवासी राजा वीरेन्द्र नै सर्वाधिक लोकप्रिय र सम्मानित राजा रहेको तथ्य स्थापित सत्य हो ।
२०५८ जेठ १९ गते शुक्रवार कडा सैनिक घेराभित्र रहेको नारायणहिटी राजदरवारभित्र कस्ले राजा वीरेन्द्रको वंश विनास गर्यो ? दोषी करार गरिएका युवराज दीपेन्द्र नै किन बाँच्नु भएन ? राजदरवार हत्याकाण्डको निष्पक्ष र विश्वसनीय छानविन किन भएन ? नारायणहिटी हत्याकाण्डको एकाध वर्षमा नै किन देश गणतन्त्रमा गयो ? यस्ता कैयन प्रश्नहरु अनुत्तरित नै छन ।
तर, कटु सत्य यही हो, देशका सबैभन्दा प्यारा, देशभक्त र प्रजातान्त्रिक राजाले प्राकृतिक मृत्युवरण गर्न समेत नपाएका राजाको वंशविनासको मुद्धामा समेत देशले त्यसको निष्पक्ष छानबिन गर्न सकेन । पछिल्लो पट्क प्रधानमन्त्री प्रचण्डले दरवारहत्याकाण्डको छानविन गर्ने भाषण त गर्नु भएको छ । तर जनताले पत्याईहाल्ने अवस्था छैन ।
देशले संघीय लोकतान्त्रिक गणतन्त्रमा आफूलाई अभ्यस्त बनाईसकेको डेढदशक भए पनि राजा वीरेन्द्र भने गणतन्त्रवादीले पनि सदासम्मान र स्मरण गर्नुपर्ने राजा हुनुहुन्थ्यो । राजाका रुपमा आफ्नो शासनकालभरी राष्ट्रघातको कुनै कुकर्म नगर्नु, देशमा आफ्नै पिता राजा महेन्द्रले सुरु गरेको एकदलीय पंचायतको पतन गरी देशमा २०४६ सालमा बहुदलीय प्रजातन्त्र दिने प्रजातन्त्रवादी राजाका रुपमा उहाँको जति चर्चा गरे पनि अपर्याप्त हुन्छ ।
२०५८ मा राजा वीरेन्द्रको वंशविनासको कारक पात्र र कारणको यथार्थ संसार सामु पस्कनु नै स्वर्गवासी राजा वीरेन्द्र र दरवार हत्याकाण्डमा ज्यान गुमाउने सबैका लागि सच्चा श्रदाञ्जली हुनेछ । त्यसैले अब सरकारको काम दरवार हत्याकाण्डको पुनः विश्वसनिय छानविन मार्फत दूधको दूध, पानीको पानी पार्नु नै हो ।
गणतन्त्र आएपछिका दर्जन बढी सरकार र प्रधानमन्त्रीहरुले केवल दरवारहत्याकाण्डको पुनः छानविनलाई राजावादीहरु र पूर्वराजा वा राजपरिवारलाई तर्साउने अश्त्रका रुपमा प्रयोग गरेको पाईएको छ । यो त झन दिवंगत राजा र उहाँको परिवारको हत्याप्रतिको अर्को अन्याय हो । कामना गरौं, यो पट्क प्रधानमन्त्री प्रचण्डले साँच्चै दरवारहत्याकाण्ड लगायतका ठूला हत्याकाण्डको निष्पक्ष छानविन गर्ने अग्रसरता लिनुहुनेछ ।