No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले व्यंग्यको विषय बनाएको मुर्रा जातको राँगोका यस्ता छन् विशेषता

0

जेपी गुप्ता ।

म कृषिमन्त्री भएको बेला नयाँदिल्लीमा भारतका तत्कालिन कृषिमन्त्री शरद पवारलाई भेटेर २५ वटा मुर्रा जातका राँगो सःशुल्क नै भएपनि उपलब्ध गराई दिन अनुरोध गरेको थिएँ । त्यसबेला भारत सरकारले कतिपय पशुधनको निर्यातमा लगाइरहेको प्रतिबन्धका कारणले उनले असमर्थता जनाएका थिए। त्यसपछिका विभिन्न मन्त्री तथा सम्वद्ध निकायले यस मांगलाई जारी नै राखेको हुनुपर्छ। हाल १३/१५ वटा उपलब्ध हुनु खुशी कै कुरो हो।

यो अभागी मुर्राले मुलुकलाई दिनसक्ने योगदानको ख्याल नगरेर यसलाई हाँसोको बिषय बनाईएको छ। मुर्राको एक भैसीले उचित स्याहार र खानपिन पाएमा वर्षमा २ सय दिनसम्म दैनिक ३० लिटर दुध दिने गरेको छ। यदि अन्य उन्नत जातको भैसीमा यस मुर्राको विर्यबाट गर्भाधान गराई सोबाट हुने बर्णशंकर भैसीबाट पनि औसत १२–१५ लिटर दुध प्रति दिन उत्पादन हुन सक्छ। भारतका ‘अमुल डेरी’ का संस्थापक ‘वर्गीज कुरियन’ ले यसरी दुधबाट भारतको समग्र विकास अभिबृद्धिका लागि ‘स्वेत क्रांति’ ल्याउन सकिन्छ भनेर चरितार्थ गरिदेखाए । आज नेपालको बजारमा सरकारी ‘डिडिसी’को दुग्ध उत्पादनहरू पाइन्न तर ‘अमुल’को सर्वत्र पाइन्छ। सरकारले राम्रो व्यवस्थापन गर्न सके वर्षमा एक राँगोबाट १ लाख अंश विर्य उत्पादन गर्न सकिन्छ। यत्रो ठूलो संभावना छ यसको ।

रमाईलो भेटन सक्नु हुन्छ । छोराहरू संसदमा मुर्रा राँगो उपहारमा खिस्सी गरिरहेको देख्नु हुन्छ। तर, बाबु काकाहरू गाउँहरूमा, बाँसघारी तिर, खोला खोल्सी तिर भक्कु बोका, उन्मत साढे, हुँडार राँगो आदिबाट बीर लगाउन दिनदिन भरी भौतारिई रहेका हुन्छन्। यस्तो अर्थ–सामाजिक यथार्थको कुरो संसदमा मजाकको बिषय बनाइएको छ। के सोच्दा हुन् भारत तिरका मानिसहरू, अंजुलीमा प्वाल परेका जात हुन नेपाली राजनीतिकहरू–यस्तै यस्तैहरू ।

आजको दिनमा मलाई त सीमाका बारेमा धेरै भन्नु मन लाग्दैन। अन्यथा अर्थ नलागोस्। भुमी प्राप्ति भएको दिन म पनि तेलको बत्ती बालेर खुशी मनाउने छु । तर म ढुक्क छु, शायद मेरो जीवनकालमा कुनै चुच्चे भाग फिर्ता पाएको मैले देख्ने छुइन। जुन मुलुकका प्रधानमन्त्रीहरू विदेशीबाट अनुचित धनराशी स्वीकार्छन्–त्यहाँ यी सब कुराहरूको के अपेक्षा गर्नु ? पंचायतको बेला एक जलविद्युत योजनाको ठेका वापत राजदरवारका लागि ‘शेर्पा होटेल’ को निर्माण गरी नजराना दिइो, यो क्रम अहिले पनि जारी छ। हाल प्रायसः सबै ठुला योजनाहरूको निर्माण कमिशनका लागि भएको गम्भीर आरोप जानकारले लगाएका छन्। राष्ट्रिय सुरक्षाको अत्यन्त संवेदनशील दायित्व बोकेको नेपाली सेना कुनै पनि ठुलो डिलमा आरोपबाट मुक्त रहेका छैनन्। अर्बौ अर्बको लगानीबाट बनेको पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय बिमानस्थल बनुन्जेल, संभाव्यता अध्ययन गरुन्जेल यसको हेक्का राखिएन कि भारत तिरबाट एयररूट लिंदा भारतको अनुमति अनिवार्य छ। अनि यस्तो भीमकाय एयरपोर्टहरू बनेर तयार हुँदा त्यहाँ कहाँका बिमानहरू ओर्लने हुन्–यसको हेक्का राखिएन। भनिन्छ, कमिशनको खेलमा बिमानस्थल बनाईयो र अहिले भारतको विरोध गर्ने जिम्मेवारी ‘ग्रेटर नेपाल’ वालाको जिम्मामा परेको छ।

विस ०५२ तिरको कुरा हो क्यार ! तत्कालिन कृषिमन्त्री शैलजा आचार्यको विवादमा शेरबहादुर देउवा भ्रष्टाचार र नेपाली समाजको पाखण्डका बारेमा संसद भित्र बोल्दै थिए । उनले प्रश्न गरे, ‘कमसे कम राणा शासन यता, पंचायती व्यवस्थाका दौरान र त्यसपछिका समयमा सम्पति, वैभव प्राप्तिका प्रति नेपाली समाजका मनोविज्ञानमा कुनै परिवर्तन आउन सकेको छ ? हामी आ–आफ्ना छोरी र बहिनीहरूको बिहे सदा सुब्बा वा खरिदार नै किन नहुन्–तर भन्सार, माल, कर तथा अदालतका कर्मचारीहरूसँग नै किन गर्न खोज्छौ ? बिहेबारीका लागि अहिले पनि सेना, पुलिस तथा वनका कर्मचारीहरू सबभन्दा बढी किन रोजिन्छन् ?’

कातर संसद मौन भयो । आज पर्यन्त सबै मौन छन्। बोलेको बेला ‘मुर्रा राँगो’का बारेमा मात्र बोल्छन्। उ बेला उक्त कुरा बोल्ने शेरबहादुर स्वयं पनि आज मौन भएका छन् ।

 

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार ०६:०७

Leave a Reply