विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
साथै माओवादीले आफ्ना मन्त्रीहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धनमा पुस २५ गते मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो । यो सरकारमा माओवादीका दुर्गा चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री र जीवन आचार्य माघ ६ गते मन्त्री नियुक्त भएर पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, रप्रपाका ६ र जसपाका एक जना प्रदेश सभा सदस्यको समर्थन थियो । जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहेको छ ।